स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता

सफल खबर संवाददाता

आइतबार, ११ बैशाख २०७९, ०७ : २९
स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता

काठमाडौं । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ ।

यी दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सकिनेछ ।१३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने उनले बताए । 

१५ वैशाखमा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६  १६ वैशाखमा  उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । 

आयोगले मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचार संहिताले तोके बमोजिमको आचरण पालना गरिदिन पनि अपिल गरेको छ । ७५३ वटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा छन् ।  मतदान केन्द्रमा प्रयोग हुने सामग्र पठाउने कार्य निरन्तर भइरहेको आयोगले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस