दाङ । नेपालमै जन्मिए बसोबास नै नेपालमै भएको तीन पुस्ताले नागरिकता नपाएको एक परिवारले जनाएको छ । तीन पुस्ताले नागरिकताका लागि अपिल गरे पनि नातिको पाल सम्म आउँदा पनि सहज रुपमा नागरिकता पाउन नसकेको उनीहरूको गुनासो छ ।
दाङको गढवा गाउँपालिका–८ (साबिक कोइलाबास गाविस–९) मा जन्मिएका अर्जुन भुजले बाजे बा र आफूले नेपाली नागरिकता लिन सबै प्रक्रिया पुरा गरे पनि अहिलेसम्म नागरिकता नपाएको बताएका छन् ।
कोइलावासमा बस्दै आएका उनका हजुरबुवा–हजुरआमाले एक पटक नागरिकता लिने प्रयास गरे लिन सकेनन् । त्यसपछि कहिल्यै उनीहरूलाई नागरिकता चाहिएन । अर्जुनका बुवा प्रेमलाल भुजले नागरिकताका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए । तर, बाबुको नागरिकता नभएको कारण देखाउँदै उनको निवेदन प्रशासनले अस्वीकार गरिदियो । नागरिकता नपाएपछि उनी आफ्ना बाबुबाजे जस्तै खेती–किसानीमै सीमित भए । गैर नागरिक भएर नेपालमा बसी रहे ।
अर्जुनकी आमा दिपा रावतको वंशजको नागरिकता छ । दिपाले बुवा बेलु रावतबाट १७ माघ २०५५ मा जिल्ला प्रशासन कार्यालय, दाङबाट वंशजको आधारमा नागरिकता लिएकी छन् । प्रेमलाल र दिपाका दुई सन्तानमध्ये अर्जुन र उनका भाइ अनिल उमेर पुगेर पनि नागरिकताविहीन अवस्थामा छन् अहिले ।
अहिलेकै स्थानमा आफ्ना तीन पुस्ताको बसोबास रहेको छ । ‘मेरा बुबाका बाबा पनि यही ठाउँमा जन्मिनुभएको हो,’ प्रेमलालले भने, 'काकाका छोराले नागरिकता लिए तर मेरो बुबाले नागरिकता नबनाएर बित्नुभयो । यसले गर्दा अहिले हामी अनागरिक भएका छौं ।’
प्रेमलाललाई २०५८ साल चैत १४ गतेको मितिमा श्री ५ को सरकार स्थानीय विकास मन्त्रालय कोइलाबास गाउँ विकास समितिको कार्यालयले परिचय पत्र दिएको छ । तर, उनका बुबाको नागरिकता नभएका कारण अहिले उनीसँगै दुई छोरोको नागरिकता बन्न सकेको छैन ।
२२ वर्षीय अर्जुन नागरिकताका लागि धाउन थालेको तीन वर्ष भयो । उनीहरूका सुरुमा नागरिकताको सिफारिसका लागि उनले बुवाको (परिचय पत्र) र आमाको (वंशजको आधार)को नेपाली नागरिकतासँगै जन्मदर्ताको प्रमाणपत्र संलग्न गरी वडा कार्यालयमा निवेदन दिए ।
कागजपत्रको आधारमा वडा कार्यालयले सिफारिस पनि दियो र उनी जिल्ला प्रशासन कार्यालय दाङ पुगे । जिल्ला प्रशासन कार्यालयले जन्मको आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई नागरिकता दिन नसकिने जवाफ दिएर फर्काइदियो ।
संविधानमा भएको व्यवस्था बमोजिम आमाको वंशजको नागरिकताका आधारमा मात्रै पनि अर्जुन भुज नागरिकताका हकदार हुन् । तर, प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मीले उनलाई तत्काल नागरिकता दिन नसक्ने जवाफ दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ चैत्र २०७८, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनलाइनबाट नागरिकता सिफारिस
जुम्लामा अनलाइनबाटै नागरिकता सिफारिस
संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौ: गृहमन्त्री लेखक
नागरिकता र राहदानी लिनेको संख्या बढ्यो
काभ्रेमा नागरिकता : २६ मुद्दा, नौ वटा नक्कली रद्द
९० वर्षीया वृद्धालाई घरमै पुगेर नागरिकता