काठमाडौँ । नेपाली कांग्रेससहितको सत्तारुढ गठबन्धनले ७ सय ५३ वटै स्थानीय तहसम्म चुनावी तालमेल गर्ने तयारी गरेको छ। त्यसका लागि गठबन्धनले भागवण्डा विधि टुंगो लगाउन संयन्त्र बनाउने भएको छ। गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाका साझा उम्मेदवारको निर्णय केन्द्रबाटै गर्ने तयारी गरेको छ। नगरपालिका र गाउँपालिकाका हकमा प्रदेश र जिल्ला समितिलाई अधिकार दिएर चुनावी तालमेलको निर्णय गराउने तयारी भइरहेको कांग्रेसका एकजना प्रभावशाली नेताले बताए।
ती नेताका अनुसार गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई एमालेलगायत अन्य दलसँग तालमेल गर्न नदिने रणनीति अनुसार ७ सय ५३ वटै स्थानीय तहमा तालमेल गर्ने निष्कर्षमा कांग्रेस पुगेको हो। यसबारेको औपचारिक निर्णय चैत ११ गते बस्ने केन्द्रीय समिति बैठकबाट गर्ने कांग्रेसको तयारी छ। माओवादी, जसपासँगै एमालेले पनि स्थानीय स्तरमा गठबन्धनका लागि खुला रहने निर्णय गरेपछि कांग्रेसले अहिलेको गठबन्धन जोगाएर जाने योजना बनाएको हो।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले तीनै तहको चुनावमा गठबन्धन बनाएर जाने जनाउसहित तयार रहन नेताहरुलाई निर्देशन दिइसकेका छन्। ‘अहिलेको सत्तागठबन्धन जोगाइएन भने वामपन्थी गठबन्धन बन्छ,’ देउवाको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘यदि वामहरु मिले भने हामीलाई गाह्रो पर्छ। वामलाई मिल्न नदिन पनि यो गठबन्धन तीनवटै चुनावसम्म कायम रहन्छ, त्यसै अनुसार तयारी गर्नू।’
वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि गठबन्धनको मुख्य दल कांग्रेस चुनावी तालमेलका लागि समयमै तयार नहुँदा अन्य दलहरूले एक्लै निर्णय गर्न थालेका थिए। जसपाले चुनाव जित्ने सर्तमा जनमत पार्टी र राप्रपाबाहेकसँग चुनावी तालमेल गर्न सक्ने निर्णय गर्दै तल्लो कमिटीमा सर्कुलर पठाएको छ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि जुनसुकै दलसँग गठबन्धन गर्न सकिने निर्देशन तल्लो तहमा पठाइसकेको छ। माओवादी केन्द्रले त चुनावी गठबन्धन बनाउन प्रदेश, जिल्ला र पालिकास्तरीय कमिटी बनाइसकेको छ। प्रत्येक कमिटीमा ३ जना सदस्य रहनेछन्। त्यसले केन्द्रसँग परामर्श गरेर गठबन्धनको निर्णय लिने अधिकार पाएको छ।
वाम गठबन्धन वा कांग्रेस बाहेकका दलहरूको गठबन्धन बन्ने सम्भावना बड्दै गएको विश्लेषण गरेर कांग्रेसले सबै तहमा गठबन्धन बनाएर जाने रणनीति बनाएको हो। ‘चैत ११ गते बस्ने हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले तल्लो तहसम्मै गठबन्धन गरेर जाने निर्णय गर्छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘गठबन्धनबाहेकका दलसँग तालमेल गर्न नपाउने सर्त भने राख्छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ चैत्र २०७८, २२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
आवश्यक परे अध्यादेश ल्याउन सकिन्छ, तर अहिले तयारी छैन : प्रधानमन्त्री ओली
काँग्रेस सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने चलखेलमा छ : एमाले
वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागि परे : केपी ओली
गठबन्धन कार्यदलको बैठक बालुवाटारमा