एआईजी सिफारिस बढुवामा असन्तुष्ट तीन डीआईजीले दिए लोकसेवामा उजुरी

पत्रपत्रिकाबाट

सोमबार, ०७ चैत्र २०७८, ०८ : २४
एआईजी सिफारिस बढुवामा असन्तुष्ट तीन डीआईजीले दिए लोकसेवामा उजुरी

काठमाडौं । नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) बढुवा सिफारिस वरिष्ठता र कार्यक्षमताका आधारमा नभई राजनीतिक भागबन्डाका आधारमा भएको भन्दै असन्तुष्ट बनेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू लोकसेवा आयोग पुगेका छन् ।

नेपाल प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सो सिफारिसप्रति असन्तुष्ट रहेका डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश अर्यालले सिफारिसविरुद्ध आइतबार लोकसेवा आयोगमा उजुरी दिएका हुन् ।

अदालत पनि जाने

समितिले डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न भन्दै सिफारिस गरेको थियो । सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री पनि असन्तुष्ट रहँदै आएका छन् । क्षत्री आफैं बढुवा समितिका सदस्य सचिव हुन् । उनले बढुवाको निर्णय हुँदै गर्दा नै अव्यावहारिक निर्णय भन्दै असन्तुष्टि जनाएको स्रोतले भनेको छ ।यसैगरी, बढुवामा नपरेका डीआईजी कार्कीले आफू अन्यायविरुद्ध अदालतको ढोकासम्म जाने जानकारी दिए ।

प्रहरी प्रधानकार्यालयले भने एआईजी बढुवामा डीआईजी अर्याल वा ईश्वरबाबु कार्कीमध्ये एक जना र धिरजप्रताप सिंह र उत्तमराज सुवेदीलाई बढुवा सिफारिस गर्न खोजेको थियो । तर, गृह सचिव टेकनारायण पाण्डेले सिंहबाहेकका दुई डीआईजीलाई बढुवामा पन्छाएपछि प्रहरी संगठनभित्र नैराश्यता बढेको छ ।

बढुवा सिफारिसमा परेका पन्त हालका आईजीपी क्षत्रीसँगै १९ वैशाख २०७९ मा अनिवार्य अवकाशमा जाँदै छन् । उनलाई प्रहरी संगठनबाट बिदा हुने समयमा सरकारले खुसी बनाउन एआईजी बढुवा गरेको हो ।

यसैगरी, वरीयताका आधारमा डीआईजीहरू अर्याल, प्रकाशजंग कार्की, पन्त, ईश्वरबाबु कार्की, सिंह, वसन्तकुमार लामा, रवीन्द्र धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसीलगायत प्रतिस्पर्धी थिए ।

धानुक माओवादी केन्द्रको जोडबलमा एआईजी सिफारिस भएका हुन् । धानुकलाई एआईजी सिफारिस गरेको विषयमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र पनि असन्तुष्टि देखिएको छ । उनलाई अर्थमन्त्री जनार्दन शर्माले एआईजी सिफारिस गर्न जोडबल गरेका हुन् । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस