काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको कार्यपालिका र नगरसभाले पारित गरेका योजना कार्यान्वयनमा राजनीतिक पूर्वाग्रहका आधारमा बाधा सिर्जना गर्न खोजेको गुनासो गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाक्यले बसन्तपुर डबलीको पुनर्निर्माणलगायत अन्य योजना कार्यान्वयनमा केही जनप्रतिनिधिहरुले राजनीतिक पूर्वाग्रहका आधारमा नै नियोजित रुपमा अवरोध गर्ने गरेको गुनासो गरेका हुन् ।
उनले आफ्नो कार्यकाल सफल भएको र महानगरका जनता खुसी रहेको पनि दाबी गरे । शाक्यले बाहिर विवाद भनेर प्रस्तुत गरिएपनि भित्री रुपमा उपमेयर हरिप्रभा खड्गीसँग कुनै विवाद नरहेको धारणा राखे ।
शाक्यले आगामी कार्यकालमा पार्टीले टिकट दिए आफू फेरि महानगर प्रमुखमा उठ्न तयार रहेको उल्लेख गरे । त्यस्तै उनले निर्वाचन आयोगले बनाएको आचारसंहिताको विषयमा पनि आपत्ती जनाएका छन् ।
जनताले जिताएर पठाएका जनप्रतिनिधिलाई पुनः उम्मेदवारी दिन राजीनामा दिनुपर्ने निर्णय गर्नु आपत्तिजनक रहेको उनको भनाइ छ । पत्रकार सम्मेलनमा शाक्यले महानगरपालिकाले निर्माण गरेका १४९ वटा सम्पदाका बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ चैत्र २०७८, १८ : १८
लेखकबाट थप