नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेट प्रतियोगिताको उद्घाटन

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १५ : ०९
नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेट प्रतियोगिताको उद्घाटन

 काठमाडौं । सातौं संस्करणको नेपाल-पाकिस्तान फ्रेन्डसिप टि-२० क्रिकेट प्रतियोगिताको बुधबार उद्घाटन भएको छ । 

पाकिस्तानी राजदूतावासको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले गरेका हुन् । मेयर शाक्यले पाकिस्तानी दूतावासले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले पाकिस्तान र नेपालका खेलाडीहरूलाई एकजुट बनाउन सहयोग गर्ने बताए । 

नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले कोडिभको यस समयमा खेलकुद गतिविधिको महत्त्व बढेको बताए । शाहले यस प्रतियोगिताले नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुमधुर बनाउने विश्वाससमेत व्यक्त गरे ।प्रतियोगिता फागुन १८ देखि २६ गतेसम्म संचालन हुनेछ । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
  
समूह ‘ए’ मा पाकिस्तान दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब तथा समूह ‘बी’ मा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी तथा जिएचसिए छन् । त्यस्तै, समूह ‘सी’ मा आरएस विद्यापीठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर तथा समूह ‘डी’ मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी छन् ।

प्रत्येक समूहका विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।  धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा भइरहेको उद्घाटन खेलमा आयोजक पाकिस्तान दूतावास र एचके क्रिकेट क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।   

प्रतिक्रिया दिनुहोस