विराटनगर भन्सारबाट लक्ष्य भन्दा कम राजस्व संकलन

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १४ : २०
विराटनगर भन्सारबाट लक्ष्य भन्दा कम राजस्व संकलन

काठमाडौ । विराटनगरस्थित भन्सार कार्यालयले पछिल्लो सात महिनामा निर्धारित लक्ष्यभन्दा तीन अर्ब रुपैयाँ कम राजश्व संकलन भएको छ।

भन्सार कार्यालयका अनुसार यो अवधिका लागि २८ अर्ब ८० करोड ७७ लाख ५२ हजार रुपैयाँ बराबरको लक्ष्य राखिए पनि २४ अर्ब ८४ करोड ४१ लाख रुपैयाँ संकलन भएको हो।

कार्यालयका प्रवक्ता रामचन्द्र ढुंगानाले सातमहिनामा कोभिड–१९, सडक, सरकारले आयातमा गरेको कडाई, मीरगञ्ज पुलको समस्या लगायतका कारण निर्धारित लक्ष्यभन्दा कम राजश्व संकलन भएको बताए।

भन्सार कार्यालयका अनुसार साउन महिनामा ३ अर्ब ३४ करोड ९६ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो। सो महिनाका लागि राजश्व लक्ष्य ३ अर्ब ४३ करोड ९१ लाख ६१ हजार तोकिएको थियो। साउनमा राखिएको लक्ष्य अनुरुप सर्वाधिक ९६।५६ प्रतिशत राजश्व असुली भएको छ।

त्यसैगरि भदौमा ४ अर्ब १६ करोड ८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिए पनि ३ अर्ब ८६ करोड ९७ लाख १३ हजार रुपैयाँ मात्र संकलन भएको छ। चाडपर्वको महिना असोजमा समेत कार्यालयमा ३ अर्ब ७९ करोड २४ लाख १९ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको छ। जबकी त्यस महिनाका लागि कार्यालयले ४ अर्ब ९ करोड ४७ लाख २८ हजार लक्ष्य तोकेको थियो। कात्तिक महिनामा कार्यालयले ४ अर्ब २३ करोड २३ लाख २५ हजार रुपैयाँ लक्ष्य तोकेको भए पनि कुल ३ अर्ब ५६ करोड ५ लाख १२ हजार रुपैयाँ मात्र राजस्व दाखिला भएको छ।

कार्यालयले मंसिरमा ४ अर्ब १७ करोड ५६ लाख ३६ हजार रुपैयाँ लक्ष्य राखेको थियो। तर ३ अर्ब ९४ करोड ४० लाख ७४ हजार रुपैयाँ मात्र असुली भएको आँकडा छ। निर्धारित लक्ष्यभन्दा कम भन्सार संकलन हुने क्रममा पुसमा पनि ३ अर्ब २७ करोड ६१ लाख ७० हजार रुपैयाँ असुली भएको हो। त्यस महिना कार्यालयले ४ अर्ब ३० करोड ५ लाख ६८ हजार रुपैयाँको लक्ष्य राखेको थियो।

गएको पुसमा भने ७६।१८ प्रतिशत मात्र राजश्व संकलन भएको छ। अरु महिनाको तुलनामा सबैभन्दा कम हो। माघ महिनामा भन्सारले ४ अर्ब ४४ लाख ५३ हजार रुपैयाँ लक्ष्यको भए पनि ३ अर्ब ५ करोड १५ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।  

प्रतिक्रिया दिनुहोस