उपत्यकाको फोहोर विसर्जनमा संघीय सरकारले तत्काल समाधान खोज्नुपर्छः मेयर शाक्य

सफल खबर संवाददाता

सोमबार, ०२ फागुन २०७८, १६ : १४
उपत्यकाको फोहोर विसर्जनमा संघीय सरकारले तत्काल समाधान खोज्नुपर्छः मेयर शाक्य

काठमाडौं । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल समस्या समाधानको खोजी गर्न संघीय सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

पासाङ ल्हामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लापारबाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनमा समेत अवरोध गरेपछि प्रमुख शाक्यले संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘स्थानीयको आन्दोलनका कारण फोहोर विसर्जनमा अवरोध गरेपछि काठमाडौँ महानगरपालिका मात्रै होइन सम्पूर्ण उपत्यकाकै फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिएर थप समस्या हुन सक्ने शाक्यले बताए । उनले भने, ‘त्यसैले संघीय सरकारसँग तत्काल समस्याको समाधान खोजी फोहोर विसर्जनको अवरोध हटाउन आग्रह गर्दछु ।’

उनले ०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयले आन्दोलन गर्ने र फोहोर विसर्जनमा समेत अवरोध हुने गरेको पनि स्मरण गराए । ‘यस्तो विषयमा सरकार संवेदनशील हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सबै भन्दा पहिला त्यहाँको बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गरोस् ।’

उनले त्यहाँको बाटो बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहोर पटक–पटक रोकिँदा गाली काठमाडौँ महानगरपालिकाले खानुपरेको पनि बताए । ‘अहिले पनि कोरोनाको कहर हटेको छैन । यस्तो बेलामा सडकमा फोहोर थुप्रिने हो भने अन्य रोग फैलिने खतरा बढी हुन्छ,’ प्रमुख शाक्यले भने, ‘त्यसैले फोहोरको राजनीति कसैले नगरौँ । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरौँ ।’

शाक्यले बञ्चरे डाँडाको अहिलेसम्म निर्माण कार्य पूरा नहुँदा थप समस्या हुने बताए । ‘सरकारले समयमा निर्माण सम्पन्न नगर्ने हो भने अहिले फोहोर विसर्जन गरिरहेको स्थान सिसडोलमा फोहोर व्यवस्थापन गर्न कठिनाइ भई आउँदो असार–साउनबाट फोहोर विसर्जनमा थप समस्या सिर्जना हुन्छ,’ उनले भने, ‘त्यसले काठमाडौं महानगर र उपत्यका नै दुर्गन्धले भयावह हुने खतरा बढी छ । त्यसैले छिटो भन्दा छिटो बञ्चरे डाँडाको काम सम्पन्न गरी काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गर्न पनि संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यसो भयो भने मात्रै आउँदो वर्षामा फोहोर विसर्जनमा सहज हुने उनको भनाइ छ । ‘फोहोर रोकेर आन्दोलन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि फोहोर–मैला व्यवस्थापनमा सरकारले सबैसँग समन्वय गरेर समाधान खोज्न आवश्यक छ,’ शाक्यले भने, ‘महानगरपालिकाका तर्फबाट गर्ने सबै प्रयासमा महानगरपालिका तयार छ । बाटो छिटो निर्माण होस् भन्ने स्थानीयको माग जायज छ तर फाहोर जस्तो संवेदनशील विषयलाई विसर्जनमै अवरोध गर्नुभन्दा पनि सम्बन्धित निकायलाई वैकल्पिक बाटोबाट दबाब दिनु उपयुक्त हुन्छ भन्ने मेरो उहाँहरुलाई सुझाव छ ।’

काठमाडौँ महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरिता राईले पनि आइतबारबाट फहोरो विसर्जनका लागि अवरोध भएको जानकारी दिइन् । ‘हिजोबाट उपत्यकाको फोहोर विसर्जनको काममा अवरोध भएको छ,’ उनले भने, ‘मुड्खु–तीनपिप्ले सडक खण्डमा स्थानीयले सडकमा अवरोध गरेपछि फाहोर विसर्जनमा अवरोध भएको हो ।’

उनले सडक निर्माणको जिम्मेवारी पाएको ठेकेदारसँग सम्पर्क गर्ने र जतिसक्दो छिटो बाटो निर्माण गर्ने प्रतिबद्धता उहाँहरुबाट प्राप्त भए सडक अवरोध खुल्ने र फोहोर विसर्जनमा सहज हुने भन्दै त्यसका लागि पहल गरिरहेको जानकारी दिए । ‘सडक निर्माण गर्ने जिम्मेवारी महानगरपालिकाको होइन,’ उनले भने, ‘तर फोहोर विसर्जनका लागि सहज वातावरण निर्माणका लागि हामीले सक्दो प्रयास गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस