फास्ट ट्र्याक सम्पन्न गर्न अझै १ खर्ब ७५ अर्ब अपुग

पत्रपत्रिकाबाट

शुक्रबार, २१ माघ २०७८, ०८ : ०९
फास्ट ट्र्याक सम्पन्न गर्न अझै १ खर्ब ७५ अर्ब अपुग

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) सम्पन्न गर्न अझै १ खर्ब ७५ अर्ब आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्न थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकालेको हो ।

समितिको बिहीबार बसेको बैठकले फास्ट ट्र्याक निर्धारित समयमा नै सम्पन्न गराउनका लागि आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि सरोकारवाला मन्त्रालयहरूसँग छलफल गर्ने निर्णय गरेको छ । यसअघि सो समितिले फास्ट ट्र्याकको अवलोकन भ्रमणसमेत गरेको थियो ।

समिति सभापति रामनारायण बिडारीले फास्ट ट्र्याक सम्पन्न गर्न थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको र आयोजना सम्पन्न गर्न रकम सुनिश्चितताका लागि सरकारका सम्बन्धित सरोकारवाला मन्त्रालयसँग छलफल गरिने बताएका छन् ।

सरकारले फास्ट ट्र्याकको आगामी २०८१ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजनाको निर्माणमा भने ढिलासुस्ती हुँदै आएको पाइएको छ । ढिलासुस्तीका कारण निर्धारित मितिमा आयोजनाको निर्माण सम्पन्न हुनेमा शंका उब्जिन थालेको छ । आयोजनाको निर्माण कार्य जारी रहेकै अवस्थामा संसदीय समितिले भने आयोजना सम्पन्न गर्न रकम अपुग देखिएको जनाएको हो ।

समितिले विभिन्न मन्त्रालयबीच समन्वय नभएका कारण काम गर्न ढिलाइ भइरहेको भन्दै मन्त्रालयबीचमा समन्वय बढाई काम सम्पन्न गराउने विषयमा पनि सम्बन्धित मन्त्रालयसँग छलफल गरी समितिले आगामी दिनमा निर्देशन दिने जनाएको छ । राजधानी दैनिकमा खबर छ  । 

प्रतिक्रिया दिनुहोस