प्रधानमन्त्री देउवाको केही चलेन !

सफल खबर संवाददाता

आइतबार, १६ माघ २०७८, १९ : २६
प्रधानमन्त्री देउवाको केही चलेन !

काठमाडौँ । एमसिसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवा दृढ देखिए पनि गठबन्धनमा आबद्ध दलहरुको असहयोगका कारण तत्कालका लागि असफल भएका छन्। आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा एसिसी अनुमोदनका लागि पेश गर्ने प्रधानमन्त्री देउवाको प्रस्तावलाई गठबन्धनमा आबद्ध मााओवादी केन्द्र र एकीकृत समाजवादीले अस्वीकार गरेपछि तत्कालका लागि असफल भएका हुन्।

शनिबार बेलुका बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी पारित गराउन अमेरिकाले मंगलबार ९फेब्रुअरी १० सम्मको समय दिएकाले पारित गराउनै पर्ने दबाबमा आफू रहेको बताएका थिए। देउवाले समाजवादी र माओवादीलाई एमसिसीकै कारण गठबन्धन तोडे पनि आफू आइतबारकै प्रतिनिधिसभाको बैठकमा अनुमोदनका लागि पेश गर्ने चेतावनी दिएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘मलाई एमसिसी पारित गराउन दबाब छ। म भोलि संसदमा लैजान्छु, पारित गरौँ। तपाईहरुले भोट दिए पनि दिनुहोस्, नदिए पनि नदिनुहोस्।’

प्रधानमन्त्रीको चेतावनीयुक्त प्रस्तावको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिवाद गरेका थिए। उनले यथास्थितिमा एमसिसी अनुमोदन गर्न नसकिने बताउँदै आफ्नो पार्टीका लागि सरकारमै बसेर सरकारको प्रस्तावको विपक्षमा मतदान गर्नु अनैतिक हुने उल्लेख गरे।

गठबन्धनको बैठकमा श्रेष्ठले भने, ‘यथास्थितिमा एमसिसी अनुमोदन गर्न सकिँदैन। यसमा राष्ट्रहित विपरीतका धेरै विषय छ। यस्तो अवस्थामा तपाईंले संसदमा लैजानु भयो भने हामी भोट हाल्दैनौँ, सरकारमै बसेर विपक्षीमा मतदान गर्नु अनैतिक हुन्छ।’बैठकमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि पनि प्रधानमन्त्रीको प्रस्तावमा असहमति जनाएका थिए।

प्रतिक्रिया दिनुहोस