चितवन । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत जोडिएको साहारा चितवन सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले पुन: सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
सरकारी वकिल कार्यालयले साहारा सहकारीको अनुसन्धान पूरा नभएको भन्दै केही दिन अगाडि प्रतिवेदन फिर्ता गरेपछि केही विषयहरू थप गरी पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।
उनका अनुसार प्रहरीले आइतबार नै अनुसन्धान प्रतिवेदन बुझाएको हो । अदालत पेस हुनका लागि मिलाउनुपर्ने केही फर्म्याटहरू नमिलेको र रकम गएको विषयको विश्लेषणसमेत मिलाएर पठाइएको ती अनुसन्धान अधिकृतले बताए । प्रहरीले एक जना प्रतिवादीसमेत थप गरेर पठाएको छ ।
यसअघि प्रहरीले रकम हिनामिनाको आरोप लागेको सात कम्पनी, रवि लामिछाने सहित ३१ जनाविरुद्ध परेको पूरक जाहेरीको समेत अनुसन्धान गरीप्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । उक्त प्रतिवेदन कमजोर भएको र फर्म्याट अनुसार नभएको ठहर गर्दै सरकारी वकिल कार्यालयले फिर्ता पठाइदिएको थियो ।
चितवन प्रहरीले १९६ पृष्ठ लामो प्रतिवेदनसहित सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरणमा गरिएको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीले सम्पति शुद्धीकरणको अनुसन्धान पनि पूर्ण नगरेको सरकारी वकिलले निष्कर्ष निकालेपछि फिर्ता पठाइएको थियो ।
सरकारी वकिल कार्यालयका अनुसार प्रहरीबाट थप अनुसन्धानसहितको प्रतिवेदन आएपछि अब त्यसमा अध्ययन गरेर चितवन जिल्ला अदालतमा एक सातादेखि १० दिनभित्र लामिछानेसहितका ३२ प्रतिवादीविरुद्ध अभियोग दर्ता गर्ने तयारी छ ।
केन्द्रबाट विज्ञहरुको टोलीसमेत आएर अनुसन्धान प्रतिवेदनको अध्ययन गर्ने स्रोतले जनाएको छ । प्रहरीको प्रतिवेदनमा सहारा सहकारीका कुल बचतकर्ता ६ हजार ३३४ रहेको उल्लेख छ । तीमध्ये बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३०८ रूपैयाँ हिनामिना भएको उल्लेख छ । तर, ४३ करोड रकम मात्रै ६ वटा कम्पनीमा गएको र अन्य रकम के कति कहाँ गएको हो भन्ने बारेमा प्रहरीको अनुसन्धान नपुगेको देखिएको सरकारी वकिलले जनाउँदै प्रतिवेदनमा ति विषय पनि समेट्न उल्लेख गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ माघ २०८१, १४ : २२
लेखकबाट थप