विमलको गोलले मोरिससमाथि नेपाल विजयी

सफल खबर संवाददाता

शनिबार, १५ माघ २०७८, १९ : ५५
विमलको गोलले मोरिससमाथि नेपाल विजयी

काठमाडौँ । फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा स्वर्णिम कमब्याक गरेपछि नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले हराएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विमलले निर्णायक गोल गरे । एक वर्षपछि राष्ट्रिय टोलीबाट मैदान उत्रिएका विमलले ५४औं मिनेटमा गरेको गोलले नेपालको जित निश्चित गर्‍यो ।

अञ्जन विष्टले मैदानको मध्यभागबाट उपलब्ध गराएको बलमा विमलले १८ यार्ड बक्सबाट गरेको प्रहार बारमा लाग्दै जाली चुम्यो । विमलको यो नवौं अन्तर्राष्ट्रिय गोल हो ।  गत माघमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका दौरान घुँडामा गम्भीर चोट लागेपछि विमल मैदानबाट बाहिर थिए । विमल पछिल्लो पटक राष्ट्रिय टोलीबाट २०७६ असोजमा विश्वकप छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलमा मैदान उत्रिएका थिए ।
१३ औं मिनेटमा सुमन लामाको प्रहार बाहिरिँदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । २६ औं मिनेटमा विमल घर्तीमगरको फितलो प्रहार मोरिससका कप्तान तथा गोलकिपर केभिन जेन लुइसले सहजै नियन्त्रणमा लिएका थिए । 

प्रतिक्रिया दिनुहोस