चुनाव धकेलेर मुलुकलाई अन्योल राख्ने प्रयास असफल : एमाले नेता ज्ञवाली

सफल खबर संवाददाता

शनिबार, १५ माघ २०७८, १९ : ३२
चुनाव धकेलेर मुलुकलाई अन्योल राख्ने प्रयास असफल : एमाले नेता ज्ञवाली

काठमाडौँ  । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनमा जेठभित्र स्थानीय तहको चुनाव गर्ने विषयमा भएको सहमतिले पछिल्लो समयमा चुनाव हुँदैन कि भन्ने विषयको अन्योल अन्त्य भएको बताएका छन् । उनले विभिन्न छिद्रहरु खोज्दै चुनाव धकेलेर मुलुकलाई अन्योल राख्ने सत्तारुढ गठबन्धनको प्रयास पनि असफल भएको बताए ।

‘औपचारिकरुपमा सरकारले निर्णय गरेपछि मुलुक निर्वाचनतर्फ जान्छ । केही दिन मुलुकलाई अन्योलमा राख्ने गलत काम भएको थियो । त्यो सफल भएन र त्यो अन्त्य भयो,’ ज्ञवालीले भने । चुनाव सार्ने बाहना उचित नभएको बताउँदै उनले भने, ‘चुनाव सार्ने बाहना कुनै पनि उचित थिएन । त्यो संवैधानिक पनि, लोकतान्त्रिक पनि थिएन । गर्नुपर्ने कर्तव्य पूरा नगरेर छिद्रहरु खोज्दै निर्वाचनलाई पर सार्ने विषय संविधानको मर्मविपरीत थियो ।’

ज्ञवालीकाअनुसार निर्वाचन आयोगको निरन्तरको ताकेता, एमाले पार्टीलगायत विभिन्न दलहरुको खबरदारी, संविधानविद् र कानुन व्यवसायीहरुको ध्यानाकर्षण, राष्ट्रपतिबाट समेत भएको ध्यानाकर्षणको कारण गठबन्धन चुनाव गर्न र चुनावको विषयमा सकारात्मक ढंगले सोच्न बाध्य भएको छ ।
 

प्रतिक्रिया दिनुहोस