पोखरा उवासंघ बतासको बचाउमा उभियो

सफल खबर संवाददाता

बुधबार, २८ पुस २०७८, १९ : ४५
पोखरा उवासंघ बतासको बचाउमा उभियो

पोखरा । पोखरा उद्योग वाणिज्य संघले व्यवसायी आनन्दराज बतास तथा बतास अर्गनाइजेसन माथि गरिएको हस्तक्षेप र टिप्पणीहरूप्रति आपत्ति जनाएको छ। संघले बतास व्यक्ति नभइ व्यवसायी भएको बताउँदै बतासमाथिको आक्रमणलाई निजी क्षेत्रमाथिकै आक्रमण भएको जिकिर पनि गरेको छ। 

संघका महासचिव सुरेन्द्रमान बिजुक्छेद्वारा बुधबार जारी विज्ञप्तिमा संघको सदस्य प्रतिष्ठान होटल आनन्दका सञ्चालक आनन्दराज बतास तथा बतास ब्रदर्समाथि भएको ज्यादतिको क्षतिपूर्ति दिन र कानूनी राज्यको प्रत्याभूति गराउँदै सफाइको मौका दिन एवं व्यवसायीको सम्पत्तिमाथि पुर्याइएको नोक्सानीको क्षतिपूर्तिको माग पनि गरेको छ। विज्ञप्तिमा नाराणहिटी दरबारभित्र रेष्टुराँ खोल्ने काम राज्यप्रदत्त व्यापार÷व्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको जिकिर पनि गरिएको छ। 

‘हाम्रो सदस्य प्रतिष्ठानले नारायणहिटी दरबारमा रेष्टुराँ सञ्चालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यावसायिक गतिविधिहरु राज्यप्रदत्त व्यापार र व्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको घामजत्तिकै छर्लङ्ग भएको विषय हो’,विज्ञप्तिमा भनिएको छ, ‘सरकारले टेण्डर आह्वान नगरेको भए, सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप निजी क्षेत्रलाई लगानीको आह्वान नगरेको भए बतास समूह न नारायणहिटी भित्रको रेष्टुराँमा लगानी गर्थ्यो न त गौशाला वा अन्य क्षेत्रमा नै व्यवसायको सम्भावना खोज्न उद्यत रहन्थ्यो।’

विज्ञप्तिमा राज्य स्वयंले टेण्डर आह्वान गर्ने, सार्वजनिक निजी साझेदारी अनुरुप निजी क्षेत्रको लगानी खोज्ने र तोकिएका प्रावधान पूरा गर्दै लगानी गरिसकेपछि विभिन्न आरोप र प्रत्यारोप लगाउँदै भाँजो हाल्ने प्रवृत्ति आफैँमा विरोधाभाषपूर्ण र पूर्वाग्रहबाट प्रेरित रहेको जिकिर पनि गरिएको छ।  

प्रतिक्रिया दिनुहोस