काठमाडौँ । अनाधिकृत रुपमा नारायणहिटी दरबार संग्रहालय बतास समूहलाई सुम्पनेलाई कारबाही गर्न आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओलीको साथ रहेको पर्यटन मन्त्री प्रेम आलेले दाबी गरेका छन्। सोमबार नारायणहिटी दरबार संग्राहालयको परिसरमा क्यान्टिनरक्याफ्टेरिया सञ्चालन सम्बन्धी अध्ययन एवं छानबिन समितिको प्रतिवेदन बुझ्दै मन्त्री आलेले गैरकानुनी रुपमा दरबार दिनेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्।
उनले आफ्नो काममा प्रधानमन्त्री देउवा र विपक्षी दलका नेता ओलीले सहयोग गर्ने दाबी गरे। राजनीतिक तहमा रहेका दोषीहरुलाई कसरी कारबाहीको दायरामा ल्याउनुहुन्छ भन्ने प्रश्नमा मन्त्री आलेले जवाफ दिए, ‘कारबाही गर्नकै लागि छानबिन समिति बनेको हो। मलाई प्रधानमन्त्रीज्यूले राम्रो काम गर्नुभएको भनेर भन्नुभएको छ। धन्यवाद भन्नुभएको छ। विपक्षी दलका नेताले पनि मलाई अनावश्यक रुपमा मुछिएको छ भन्नुभएको छ।’
दरबारभित्र अनाधिकृत रुपमा बतास समूहले संरचना निर्माण गरेको तथ्य सार्वजनिक भएपछि मन्त्रालयले पुस २२ गते तीन दिनको कार्यादेश दिएर अध्ययन समिति बनाएको थियो। अध्ययन समितिले ६।३४ आना जग्गामा क्याफे सञ्चालन गर्ने सम्झौता भए पनि नारायणहिटी परिसरभित्र १४ रोपनी क्षेत्रमा संरचना निर्माण भएको तथ्य बाहिर ल्याएको हो। दरबारभित्र रहेको ऐतिहासिक बंकरलाई समेत तोडमोड गरिएको पाइएको अध्ययन समितिका संयोजक होमप्रसाद लुईटेलले बताए।
समितिले संरचना निर्माण तत्काल रोक्न सिफारिस गरेको छ। प्रतिवेदनमा उक्त क्याफे निर्माण गर्ने क्रममा एउटै परिवारभित्रका सेयर सदस्यहरु रहेको बतास समूहका तीनवटा संस्थाले प्रतिष्पर्धामा भाग लिएकाले ठेक्का सम्झौतामा मिलेमतो भएको उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ पुस २०७८, १८ : ४८
लेखकबाट थप