रामपुर क्याम्पसमा मित्रमणी स्मृति वाचनालय स्थापना हुने

मंगलबार, १८ बैशाख २०७५, १८ : ५९
रामपुर क्याम्पसमा मित्रमणी स्मृति वाचनालय स्थापना हुने

भरतपुर । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले रामपुर कृषि क्याम्पस पुगेर ३३ औं सहिद मित्रमणी आचार्य स्मृति दिवस मनाएको छ । चितवनको रामपुर स्थित रामपुर कृषि क्याम्पस सहिद मित्रमणी आचार्यले पढेको र स्ववियु सभापति समेत भएको क्याम्पस हो ।

आज क्रान्तिकारीको केन्द्रीय समितिद्वारा आयोजित स्मृति कार्यक्रममा अध्यक्ष रञ्जित तामाङले रामपुर क्याम्पसमा मित्रमणी स्मृति वाचनालय स्थापना गर्ने घोषणा गरे । तामाङले मित्रमणी आचार्यको सालिक संगै रामपुर क्याम्पस पढ्ने जनयुद्धका सहिद मुकुन्द न्यौपाने र रामवहादुर खड्काको सालिक वनाई निर्माणाधिन स्मृति वाटिकालाई पुर्णता दिने समेत घोषणा गरे ।

प्युठान जिल्लाको रम्दी भन्ने ठाउँमा २०१९ असार ३ गते जन्मिएका मित्रमणी आचार्य ०३७ सालमा पक्लिह्वा क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए। उनी पछि २०४१ सालमा रामपुर कृषि क्याम्पसको पनि स्ववियु सभापति निर्वाचित भएका थिए । आचार्यलाई २०४२ साल वैशाख १८ गते चितवनको पर्साढाप भन्ने ठाउँमा खुकुरी,भाला प्रहार गरी क्रुरतापुर्वक हत्या गरिएको थियो । सोही दिनलाई नेपालका वामपन्थी विद्यार्थी संगठनहरुले मित्रमणी दिवसको रुपमा मनाउँदै आएको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए ।

स्मृति सभामा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य यामवहादुर परियार , कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति एवम् सहिद मित्रमणीका गुरु प्रा.डा.ईश्वरीप्रसाद ढकाल, मित्रमणीका सहपाठी टीका पोखरेलले उनको संघर्षशील जीवनको चर्चा गरेका थिए ।

कार्यक्रममा क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत, उपाध्यक्ष विजय गौतम,उपमहासचिव जिपि मैनाली र रामपुर क्याम्पसका अध्यक्ष नगेन्द्र दाहालले राष्ट्रियता,लोकतन्त्र र विद्यार्थी हकहितको पक्षमा निरन्तर लागिरहनु नै मित्रमणी आचार्यप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
    

 

प्रतिक्रिया दिनुहोस