काठमाडौँ । आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आएकी सुधा गौतमले समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ । उनले आफूजस्तै अरु सुस्त श्रवण भएका बालबालिकालाई शिक्षाको ज्योति दिएर सुन्दर भविष्य कोर्दै आएकी छिन् ।
महोत्तरीको बर्दिबास नगरपालिका–३ की २९ वर्षीया गौतम गौशाला नगरपालिकामा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा १० वर्षदेखि शिक्षिकाको रूपमा कार्यरत छिन् । पहिले इशारा (साङ्केतिक भाषा) बाट बहिरा बालबालिकालाई पठनपाठन सुरु गरेकी शिक्षिका गौतम सुस्त श्रवण कक्षाका विद्यार्थीलाई निरन्तर इशारा र सङ्केतको भरमा शिक्षादीक्षा दिँदै ज्ञानको ज्योति छर्नमा उनी व्यस्त छिन् । भुईँमै कार्पेट ओछ्याएर कक्षाभरि पलेटी मारेर पढ्न सक्ने गरी बनाइएको बेन्चमाथि कापी, किताब, कलम, पेन्सिललगायतका शैक्षिक सामग्री राखी सबै विद्यार्थी शिक्षिका गौतमले आफ्नो हात, आँखा र अनुहारले देखाएकी विभिन्न सङ्केत र इशाराको भरमा पढ्ने गर्दछन् ।
बाल कक्षादेखि माध्यमिक स्तरसम्मको पठनपाठनका साथै १० जोड २ र प्राविधिक क्षेत्रमा इञ्जिनीयरिङसम्मको पठनपाठन हुने यस विद्यालयमा सुस्त श्रवण भएका विद्यार्थीका लागि पनि विशेष कक्षा सञ्चालन भइरहेको छ । करिब दुई हजार बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा एकै सिफ्टमा सबै कक्षा तथा विद्यार्थीको पठनपाठन सम्भव नहुँदा दुई सिफ्टमा चलाउनु परेको प्रधानाध्यापक विनोद महतो बत्ताउँछन्। कक्षा ११ र १२ को बिहानको अध्यापन सकेपछि १० बजेदेखि सुरु हुने माध्यमिक स्तरसम्मको पठनपाठन हुने गर्दछ ।
विद्यालयको एउटा कक्षा कोठामा १६ जना बालबालिकालाई एक्ली बहिरा शिक्षिकाले पढाइरहेको हेर्न सकिन्छ । उनले विशेष शिक्षाअन्तर्गत साङ्केतिक भाषामा कक्षा १ देखि ४ सम्म सर्लाहीबाट र कक्षा ५ देखि १० सम्म रौतहटको चन्द्रनिगाहपुरबाट अध्ययन गरेकी थिइन् । कक्षा ११/१२ को पढाइ पोखराबाट पूरा गरेकी उनले साङ्केतिक भाषामै सिरहाबाट नेपाली भाषामा बटिएडसम्मको अध्ययन गरेकी हुन् । त्यसपछि उनले त्रिभुवन विद्यालयमा बहिरा विद्यार्थीका लागि सञ्चालित विशेष कक्षामा पढाउने जागिर करारमा पाएकी हुन् ।
कानले राम्ररी सुन्न नसक्ने र मुखले पनि राम्ररी बोल्न नसक्ने भएकाले उनी र उनका विद्यार्थीलाई बाहिर कहाँ, के भइरहेको छ भन्ने कुरामा खासै चासो रहेको पाइँदैन । सायद त्यसैले होला सबै विद्यार्थीहरू पठनपाठनमा निक्कै अब्बल र मेधावी देखिएको प्रधानाध्यापक महतो बताउँछन् । बालबालिकाहरूले कसरी शिक्षिका गौतमको सबै कुरा बुझ्छन् र कसरी उनीसँग इशारा र सङ्केतमै कुराकानी गर्छन् भन्नेमा धेरैलाई अनौठो र आश्चर्य लाग्न सक्छ ।
बालबालिकाहरूले कुराकानी मात्रै नभएर उहाँको सङ्केत र इशाराकै भरमा आफ्नो अध्ययन अध्यापनलाई पनि अगाडि बढाएका छन् । इशारा र सङ्केतकै भरमा उनीहरू शिक्षिका गौतमले भनेको कुरा लेखेर, गृहकार्य गरेर र कक्षामा प्रस्तुत गरेर पनि देखाउँछन् । ती सबै विद्यार्थी कक्षा १ देखि ५ सम्म अध्ययनरत छन् । प्रत्येक वर्ष अन्य छात्रछात्राहरू सरह बहिरा बालबालिकाले पनि परीक्षा दिने र उत्तीर्ण भएर नयाँ कक्षामा जाने गरेको शिक्षिका गौतम बत्ताउँछिन् । कक्षाकोठाको चारैतिरको भित्तामा विभिन्न सन्देशमूलक र बालबालिकालाई अध्ययनको लागि उपयोगी हुने चित्र र सङ्केतहरु कोरिएको छ । विद्यार्थीहरूले ती चित्र र सङ्केतहरु र आ–आफ्नो कापी किताबको माध्यमले अध्ययन गर्ने गर्दछन् ।
आफूजस्तै फरक क्षमता भएका विद्यार्थीलाई पढाउन पाउँदा आफू निक्कै खुसी भएको बताउँदै शिक्षिका गौतमले शिक्षाको ज्योतिले आफू जस्तै बालबालिकालाई आफूजस्तै संसार हेर्ने र बुझ्ने बनाउन पाउँदा निकै खुसी लागेको त्यहाँ पुगेका सञ्चारकर्मीलाई लेखेर देखाइन् । उनले बहिरा बालबालिकालाई पठनपाठन गराउँदा देखिएका चुनौतीको बारेमा सोध्दा उनी भन्छिन्, ‘‘सुस्त श्रवण (फरक क्षमता) भएका छात्रछात्राहरू सामान्य मानिसभन्दा अलिक फरक हुन्छन् ।’’ त्यस्ता क्षमता भएका बालबालिकाहरू सामान्य विद्यार्थीभन्दा बढी जिद्धी, झगडालु, चाँडै रिसाउने र भाग्न खोज्ने प्रवृत्तिको हुने गरेकोले उनीहरूलाई सम्हाल्न निक्कै समस्या र कठिनाइ हुने गरेको उनले बताइन् ।
अन्य कक्षा जस्तो वैकल्पिक शिक्षक, शिक्षिका नहुँदा एक्लैले दिनभर पढाउनुपर्दा आफू र विद्यार्थीहरू पनि थकित हुने गरेको उनको गुनासो छ । शिक्षिका गौतमले अरु शिक्षक, शिक्षिका सरह सामान्य परिस्थितिमा बिदा पनि पाउँदिनन् । बिरामी वा अन्य कारणले उनी विद्यालय आउन नसकेको दिन ती विद्यार्थीले राम्ररी पढ्न पाउँदैनन् । आफू विद्यालय आउन नसक्ने दिन आफैँले विकल्पको रूपमा अरु शिक्षक ल्याउनुपर्ने र विद्यार्थीलाई पनि सम्झाई बुझाइ जानुपर्ने बाध्यता रहेको उनले बताइन् ।
शिक्षिका गौतमले विद्यार्थीहरू त आफूजस्तै भएकाले उनीहरूसँग बस्न, पठनपाठन गर्न कुनै समस्या नभएको तर विद्यालयमा बाहिरबाट आएका आगन्तुक, अतिथि र अन्य व्यक्तिहरूसँगको संवादको लागि विद्यालयमा बहिरा विद्यार्थी र आफ्नै लागि पनि दोभासेको व्यवस्थापन गरिनुपर्ने माग गरिन् । शिक्षिका गौतम फरक क्षमताका बालबालिकाहरू देशभर नै रहेकाले उनीहरूलाई पढ्ने वातावरण निर्माण गर्न राज्यका तिन वटै सरकारले चासो देखाउनुपर्ने बताउँछिन् ।
प्रत्येक गाउँ बस्तीमा रहेका सुस्त श्रवण भएका बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् र सामान्य नागरिक जस्तो बोल्न र सुन्न नसके पनि शिक्षाको माध्यमले ज्ञानको ज्योतिको साहारामा यस संसारमा सम्मानित जीवनयापन गर्न सकुन् भने उनको धारण छ । उनी जिल्ला, प्रदेश र सङ्घमा रहेका विभिन्न संघ संस्थाहरूमा समेत आबद्ध छिन् । हाल उनी महोत्तरी जिल्ला बहिरा सङ्घको अध्यक्ष छिन् भने राष्ट्रिय बहिरा महासङ्घ मधेस प्रदेशको सचिव समेत हुन् । त्यसै गरी राष्ट्रिय बहिरा महासङ्घको केन्द्रीय सदस्य र राष्ट्रिय अपाङ्ग महासङ्घको मधेस प्रदेश सदस्यको रूपमा समेत शिक्षिका गौतम कार्यरत छिन् । फरक क्षमताका सवालहरूमा देश विदेशमा आयोजना हुने सभा समारोहमा पनि उनको प्रतिनिधित्व रहने गर्दछ ।
प्रधानाध्यापक महतोका अनुसार त्यस विद्यालयमा २० वर्षदेखि विशेष कक्षा (सुस्त श्रवण कक्षा) सञ्चालन हुँदै आएको छ । उनले अहिलेसम्म यस विद्यालयबाट थुप्रै विद्यार्थीले प्राथमिक शिक्षा पाएर यहाँबाट गइसकेको बताए। यहाँबाट उत्तीर्ण भएका विद्यार्थी सिरहा र सर्लाहीसहितका जिल्लामा जाने गर्दछन् । शिक्षिका गौतम जस्तै थप शिक्षक, सुस्त श्रवण भएका विद्यार्थी र शिक्षकलाई बाहिरी व्यक्तिसँगको संवादका लागि दोभासे र उनीहरूको समुचित व्यवस्थापनका लागि आफूले पटक–पटक सम्बन्धित निकायमा लिखित र मौखिक रूपमा माग गर्दै पत्राचार गर्दै आएको प्रधानाध्यापक महतोले बताए ।
विशेष कक्षा सञ्चालनका लागि यस विद्यालयमा शिक्षा मन्त्रालयबाट प्रत्येक वर्ष प्रतिविद्यार्थी रु. चार हजारका दरले प्राप्त हुने गरेको र त्यसै रकमबाट विद्यालयले उनीहरूको आवास, खानपिन, लत्ताकपडादेखि शैक्षिक सामग्रीको व्यवस्थापन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असोज २०८१, १२ : ०९
लेखकबाट थप