उपराष्ट्रपतिले दिए राष्ट्रिय महिला भलिबल टिमलाई बधाई

सफल खबर संवाददाता

बुधबार, १४ पुस २०७८, १२ : २६
उपराष्ट्रपतिले दिए राष्ट्रिय महिला भलिबल टिमलाई बधाई

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भबिल कन्फेडेरेसन (एभीसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीप विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई बधाई दिएका छन् । 

बंगलादेशको ढाकामा मंगलबार सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गरेर नेपाली टोलीले उपाधि हात पारेको थियो । उपराष्ट्रपति पुनले बुधबार नेपाली टोलीलाई बधाई दिएका हुन् । 

यस्ताे छ  उपराष्ट्रपतिको बधाई सन्देशः-

हिजो (मंगलबार) को दिन सम्पूर्ण नेपालीहरुको हर्षको र नेपाली भलिबलका लागि स्वर्णीम दिन बन्यो । नेपाली राष्ट्रिय महिला भलिबल टिमले बंगलादेशको ढाकामा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभीसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गरेर उपाधीको रक्षा गर्दै किर्तिमान कायम गर्नु राष्ट्रकै गौरव र प्रतिष्ठा उच्चो हुनु हो । नेपाली महिला भलिबल टिमले किर्तिमान कायम गरेको गौरवपूर्ण अवसरमा म अत्यन्त हर्षित छु । 

खुशीयालीको सुखद अवसरमा राष्ट्रको गरिमा बढाउनुका साथै नेपाल र नेपालीको शीर उचो बनाउनुहुने राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, सम्पूर्ण खेलाडीहरु, टिम म्यानेजर तथा नेपाल भलिबल संघका पदाधिकारीहरुमा बधाई दिन चाहन्छु । राष्ट्रका लागि यो ऐतिहासिक सफलता दिलाउने प्रशिक्षक तथा खेलाडीहरुमा धन्यवादसहित उच्च सम्मान व्यक्त गर्दछु । 

भलिबल हाम्रो राष्ट्रिय खेलमात्रै नभइ हिमाल, पहाड र तराईका टोल–टोलमा खेल्न सकिने र नेपालका सबै भूगोललाई जोड्ने सबैभन्दा लोकप्रिय खेल पनि हो । नेपाली भलिबलको ४३ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा राष्ट्रिय महिला भलिबल टिमले राष्ट्रलाई दोस्रो पटक दिलाएको यो अन्तर्राष्ट्रिय उपाधी अभूतपूर्व, अनुपम एवम् प्रशंसनीय छ । यसबाट नेपाली महिला राष्ट्रिय भलिबलले टिमले ठूलो फड्को मारेको प्रमाणित हुन्छ ।

यो अपार सफलताबाट देशभित्र भलिबलको लोकप्रियता अझै बढेर जानुको साथै भविष्यमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली खेलाडीहरु उच्च मनोबालका साथ मैदानमा उत्रने र यी भन्दा ठूला सफलताहरु हासिल गर्नेमा म विश्वस्त छु । यसै प्रतियोगिताको पुरुषतर्फको खेलमा नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले गरेको प्रदर्शनको प्रशंसा गर्दछु । 

देशभक्ति भावले ओतप्रोत नेपाली खेलाडीहरुले आगामी दिनमासमेत राष्ट्रप्रतिको प्रेम र समर्पणलाई अटल राख्दै देशको महिमा र गरिमालाई विश्व जगतमा अझै फैलाउने कुरामा विश्वस्त छु । नेपाली भलिबल र समग्र खेलकूद क्षेत्रको विकासका लागि मेरो सदा सर्वदा साथ रहनेछ । 

 

प्रतिक्रिया दिनुहोस