मेघौली चितवनको प्रमुख पर्यटकीय गन्तव्य बन्नेछ : दाहाल

मंगलबार, १८ बैशाख २०७५, १८ : ४६
मेघौली चितवनको प्रमुख पर्यटकीय गन्तव्य बन्नेछ : दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मेघौली चितवनको प्रमुख पर्यटकीय गन्तव्य बन्ने बताउनु भएको छ  । मंगलबार चितवनको मेघौलीमा मेघौली उपभोक्ता समितिद्वारा आयोजित वन्यजन्तु जैविक विविधता संरक्षण तथा पर्यटन प्रवद्र्धन सम्बन्धी दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख दाहालले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “जैविक विविधता, दुर्लभ वन्यजन्तुको वासस्थान चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी नारायणी र रापतीको संगमस्थल मेघौली नै चितवनको प्रमुख पर्यटकीय केन्द्र बन्नेछ ।” वन्यजन्तुहरु पर्यटनका प्रमुख आकर्षण भएको बताउँदै दाहालले यिनको संरक्षण र पूर्वाधार विकास समुचित र सन्तुलित ढंगले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस क्षेत्रमा पर्यटन पूर्वाधारमा लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरिरहेको जानकारी दिँदै उहाँले स्थानीय, प्रान्तीय र संघीय सरकारसँग समन्वय गरेर सडक पूर्वाधारमार्फत कनेक्टिभीटी बढाउने कार्यमा महानगरपालिका सक्रियतापूर्वक लागिरहेको जानकारी गराउनु भयो ।

सबैको चासो र चिन्ता भरतपुर महानगरको तीब्र विकास गर्ने रहेको भन्दै महानगर प्रमुख दाहालले यो गोष्ठी भरतपुर २७ र २८ नं. वडाको पूर्वाधार, पर्यटन विकास, वन र वन्यजन्तु संरक्षणमा ठोस र प्रभावकारी नीति निर्माणमा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिकाको प्राथमिकतामा सडक बिस्तार र कालोपत्रे रहेको बताउनु भयो । उहाँले वन्यजन्तुबाट समुदायमा हुने क्षति न्यूनीकरण, नदी कटान र बाढी रोकथामका काम भइरहेको बताउँदै मेघौलीमा अत्याधुनिक सनसेट भ्यू टावर निर्माण गर्ने महानगरको योजना रहेको जानकारी दिनुभयो । नारायणी नदीमा जल पर्यटनलाई विकास गर्न जलचरहरूको संरक्षणमा असर नपर्ने विधिको खोजी गरी त्यसलाई अगाडि बढाउन महानगरले सम्बन्धित निकायहरूसंग छलफल गरिरहेको बताउनु भयो ।

मेघौली उपभोक्ता समितिका अध्यक्ष श्यामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर २८ का अध्यक्ष आशबहादुर कुमाल, वडा नम्बर २७ का अध्यक्ष गोविन्द तामाङ, चितवन राष्ट्रिय निकुञ्जका पूर्ववार्डेन रामप्रित यादव, चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदी लगायतले मेघौलीको पर्यटकीय सम्भावना, वन र वन्यजन्तु संरक्षण सम्बन्धी धारणा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस