क्षयरोगीलाई हेयको नभई सम्मानको खाँचो छ : दाहाल

मंगलबार, १८ बैशाख २०७५, १६ : ०५
क्षयरोगीलाई हेयको नभई सम्मानको खाँचो छ : दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले क्षयरोगीहरुलाई हेयको नभई सम्मानको खाँचो रहेको बताउनु भएको छ । मंगलबार चितवनको शरदपुरमा राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षण कार्यक्रमको शुभारम्भ गर्दे प्रमुख दाहालले यस्तो बताउनु भएको हो । उहाँले भरतपुर महानगरपालिका वडा नम्बर नौ बस्ने ७८ वर्षीय रुद्रनाथ कोइरालालाई बारकोड लगाएर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

नियमित औषधि सेवन र स्वास्थ्य आचरणले क्षयरोग निको हुने धारण राख्दै उहाँले बिरामीको मनोबल उच्च राख्न र संवेदनशील रोगहरुबारे जनचेतना फैलाउन आवश्यक रहेको बताउनु भयो । महानगर प्रमुख दाहालले त्यस्ता कार्यहरुमा महानगरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उच्च प्रविधि प्रयोग गरिएको यस सर्वेक्षण र प्रिभिलेन्सबाट सबैले लाभ लिनुपर्ने बताउँदै उहाँले नगरवासीहरुलाई स्वास्थ्यप्रति संवेदनशील रहन आग्रह गर्नुभयो ।

राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षणका कोअर्डिनेटर अनिल थापाले यो सर्वेक्षण नेपालमा पहिलो पटक गरिएकोे बताउनु भयो । उहाँले यो सर्वेक्षण अहिले सर्लाही, चितवन र दाङमा सञ्चालन भइरहेको बताउनु भयो । उहाँले देशका अन्य ५२ जिल्लामा सर्वेक्षण गरिने र त्यसबाट ७८ हजार जना क्षयरोगीको सर्वेक्षण गरी यथार्थ विवरण लिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले अन्तराष्ट्रिय समुदायले यस्तो सर्वेक्षण नेपालले पनि गर्न सक्छ र ? भनी आशंका गरिरहेको अवस्थामा पेपरलेस डिजिटल प्रविधिबाट गरिने सर्वेक्षण सफलतापूर्वक सम्पन्न गरेर विश्व समुदायलाई देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  

थापाले नेपालमा वार्षिक १५ हजारको हाराहारीमा नयॉ क्षयरोगीहरू देखिने गरेको जानकारी दिँदै नयाँ र पुराना क्षयरोगीमध्ये करिब ७ हजार जनाले बर्सेनि ज्यान गुमाउने गरेको बताउनु भयो । चितवनबाट शुरू भएको यो कार्यक्रम बैशाख १७ देखि १९ गतेसम्म संचालन गरिने बताउँदै उहाँले भरतपुर, अयोध्यापुरी र गर्दी क्लस्टरमा यो कार्यक्रम संचालन गरिने जानकारी दिनुभयो ।

नेपालका ५५ जिल्लाका ९९ क्लस्टरमा सञ्चालन गरिने कार्यक्रम अन्तर्गत डिजिटल प्रविधिबाट बिरामीको छाती, फोक्सो र अन्य अंगको परीक्षण गरी क्षयरोगको यथार्थ अवस्था बुझेर भावी रणनीति लिने सरकारको उद्देश्य रहको छ । कार्यक्रम भरतपुर महानगरपालिका वडा नं. ९ का अध्यक्ष यमलाल कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस