सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार दोस्रो जित

सफल खबर संवाददाता

शुक्रबार, ०९ पुस २०७८, १२ : ५५
सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोनमा लगातार दोस्रो जित दर्ता  गरेको छ । बंगलादेश ढाकाको सहिद सुरावर्दी कभर्डहलमा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । 

सुरुवाती समयबाटै दबाब दिएको साविक टोली नेपालले लगातार १० अंक जोडेपछि माल्दिभ्सले पहिलो सेटमा पहिलोपटक टाइम आउट लिन बाध्य भएको थियो । माल्दिभ्सले चार अंकमात्र बनाएको थियो । 

मुख्य प्रशिक्षक जगदीश भट्टले अनुभवी खेलाडी ओपन स्पाइकर प्रतिभा माली र सरस्वती चौधरीलाई बाहिर राख्दै उनीहरुको स्थानमा पहिलो रोजाइमा नयाँ खेलाडी शान्ति थारू, कामना विष्टलाई कोर्टमा उतारेका थिए ।  

यस्तै राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएकी लक्ष्मी चन्दले समेत डेब्यु गरिन् । नेपाल पुलिस क्लबकी खेलाडी चन्दले पहिलो पटक टोलीमा स्थान बनाएकी हुन् । 

नेपालले माल्दिभ्सविरुद्ध पहिलो सेट २५–११ ले आफ्नो पक्षमा पारेको थियो । त्यस्तै, दोस्रो सेटमा २५–९ र तेस्रो सेटमा २५–५ को एकपक्षीय सेटमा जित हासिल गर्न नेपाल सफल भयो । 
  
जितसँगै नेपालले दुई खेलबाट ५ अंक जोडेर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।  बिहीबार आफ्नो पहिलो खेल खेलेको नेपालले श्रीलंकामाथि ३–२ को जित हात पारेको थियो । नेपालले अब शनिबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान ९ः१५ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस