हाइड्रोजनबाट कार सञ्चालन तयारी

पत्रपत्रिकाबाट

आइतबार, ०४ पुस २०७८, ०८ : ०८
हाइड्रोजनबाट कार सञ्चालन तयारी

काठमाडौँ । बिजुली वा पेट्रोल होइन, हाइड्रोजनबाट चल्ने कार बन्दै छ । यो विदेशमा भएको प्रयास पनि होइन, नेपालमै । कार त पहिलो प्रयोगमात्र हो, एक वर्षभित्र सार्वजनिक यातायातका लागि बस नै चल्नेगरी हाइड्रोजन ऊर्जा अनुकूलको इन्जिन बनाइँदै छ ।

त्यसका लागि काठमाडौँ विश्वविद्यालयले पेट्रोलबाट चलिरहेको कारलाई हाइड्रोजनबाटै चलाउन सक्नेगरी रूपान्तरण गर्न लागेको छ । काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक विराजसिंह थापाका अनुसार विश्वविद्यालयका प्रथम उपकुलपति सुरेशराज शर्माले प्रयोग गरेको मारुती कारको इन्जिन झिकेर हाइड्रोजनबाट चल्न सक्ने बनाउन लागिएको हो ।

यससँगै विश्वविद्यालयले एक वर्षभित्र धुलिखेलबाट काठमाडौँ सञ्चालन हुनेगरी दुईवटा सार्वजनिक बस सञ्चालन गर्ने योजना बनाएको छ । हाइड्रोजनबाट बस सञ्चालन गर्न १० करोड रुपियाँ बजेट आवश्यक पर्छ । उक्त रकम जुटाउने काममा विश्वविद्यालय लागिरहेको छ र सो रकम हाइड्रोजन उत्पादन, भण्डारण, सुरक्षालगायतका काममा खर्च हुने थापाको भनाइ छ ।

काठमाडौँ विश्वविद्यालयले स्वदेशी लगानीमा पहिलो पटक हाइड्रोजन ऊर्जा उत्पादन गर्न लागेको हो । त्यसको परीक्षण निकै अघिदेखि हुँदै आएको छ । हाइड्रोजन ऊर्जा गाडी चलाउनमात्र प्रयोग हुँदैन । खाना पकाउन तथा विभिन्नप्रकारका रासायानिक पदार्थ उत्पादन गर्ने उद्योगमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग व्यापक बनाउन सके पेट्रोलियम पदार्थ आयातका लागि बिदेसिने गरेको रकम स्वेदशमै रोकिनेछ । गोरखापत्र दैनिकमा खबर छ । 
 

प्रतिक्रिया दिनुहोस