आज २५६२ औं बुद्ध जयन्ती

२५६२ औं बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदै

सोमबार, १७ बैशाख २०७५, ०१ : ००
२५६२ औं बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६२ औं बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६२ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।

छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाएका थिए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गर्दै बौद्ध दर्शनको खोज–अनुसन्धान थालेका थिए ।

‘सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभयो, जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो,’ उनले भने ।

बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश दिएका थिए । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।

यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।

हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।
काठमाडौँको बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति र्‍याली निकालिन्छ ।

यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरि एवम् शोभा यात्रा निकालिन्छ । प्रभातफेरि र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ को नारा लगाइन्छ ।

बुद्ध शव्दको अर्थ सस्कृत शव्द बुध अर्थात जाग्नु भन्ने हुन्छ । पूर्णरुपमा सांसारिक मोहको पीडावाट जागेका एक महान व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक अनि प्रवर्तक हुन बुद्ध । यस्ता महान गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार श्रजना गरेका भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मान्छेलाई सांसारिक मोह र तनाववाट व्यूझाउन सहयोग गरे ।

विश्वमा ३५ करोड बढि मानिसले वुद्ध धर्म मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो । अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरु नेपाल सहित चीन, भारत, श्रीलंका, बर्मा, थाईल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।संसारभरि फैलिएको यस बुद्ध दर्शनको उदगम विन्दु नेपालमा भएकाले नपाललाई शान्तीको देश पनि भनिन्छ, तसर्थ बुद्धको जन्मभुमीमा आजको दिनमा विभिन्न देशहरुले संसारभरिवाट अदभुत मन्दीर गुम्बाहरु निर्माण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस