ओली त्रासबाट जनतालाई मुक्ति दिलाएको छु, मलाई जिताउनुहोस् : देउवा

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, १८ : ५६
ओली त्रासबाट जनतालाई मुक्ति दिलाएको छु, मलाई जिताउनुहोस् : देउवा

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारमा जनताले डर, त्रासको अनुभव गरेको भन्दै आफूले जनतालाई त्यो डर, त्रासबाट मुक्त गराएको बताए ।

पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएको भोलिपल्टबाटै सबैले ओलीको डर, त्रासबाट मुक्ति पाएको अनुभव गरेको बताए । उनले भने, ‘जनताले केपी ओलीको शासनबाट मुक्ति पाएका छन् । अब त्यो मुक्तिलाई कायम राख्ने कि नराख्ने भन्ने कुरा तपाईँहरूको हातमा छ ।’

उनले आफूलाई पार्टी सभापतिमा जिताउन आग्रह गर्दै कार्यकर्तालाई भने, ‘आउँदो सरकार काँग्रेसको हुन्छ, गाउँदेखि माथिसम्म । त्यो मेरो जिम्मा भयो ।’ पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट कुनै किसिमको मनमुटाव राख्न नहुने पनि उनले बताए । उनले भने, ‘भोलि चुनाव आउँछ, आन्तरिक निर्वाचनमा भएको मनमुटावले आगामी स्थानीय तहको र राष्ट्रिय निर्वाचनमा कुनै असर नगरोस् ।’

उनले अब तीनै तहमा काँग्रेसको सरकार हुने दाबी गर्दै त्यसका लागि आफूलाई जिताउन कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘कुनै पनि हालतमा डर र त्रासबाट मुक्त शासन ल्याएरै छाडिन्छ । काँग्रेसको सरकार बनाउँछु बनाउँछु बनाउँछु । तपाईंहरु मलाई साथ दिनुस् ।’

प्रतिक्रिया दिनुहोस