प्रदेश सभा बैठकमा प्रमको सम्बोधन

सिण्डिकेट र भ्रष्टाचारको जालो तोडेरै छाडिन्छ : ओली

आइतबार, १६ बैशाख २०७५, १२ : २५
सिण्डिकेट र भ्रष्टाचारको जालो तोडेरै छाडिन्छ : ओली

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सिण्डिकेट र भ्रष्टाचारको जालो तोडेरै छाड्ने बताउनु भएको छ । प्रदेश नम्बर ५ को प्रदेशसभा सभा बैठकलाई आज आइतबार बुटवलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिण्डिकेट र भ्रष्टाचारको जालो तोडेरै छाडने बताउनु भएको हो ।
‘सिण्डिकेट तोडिन्छ, अनुचित कुरासँग सम्झौता गर्दैनौं । भ्रष्टाचार रोकिन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म भ्रष्टाचार गर्दिन । कसैले गरेको सहन्न । भ्रष्टाचारको मामिलामा अनुहारतिर हेर्दिन, को पर्छ भनेर ।’ वर्तमान सरकार जनताबाट फूलचार्ज सरकार भएको बताउँदै प्रधानमन्त्री ओलीले यो सरकार पिलपिल नगर्ने सरकार भएको बताउनु भयो ।
ओलीले सुशासनको मामिलामा सरकार कठोर हुने चेतावनी दिए । ‘कहिलेकाहीँ लाग्न सक्छ, सरकार निर्मम भयो भनेर’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सेटिङ मिलाउने, अनेक प्रकारका व्यवधान खडा गर्ने, घुस र कमसिनबाट राज्यलाई घाटा पार्नेहरुसंग कुनै सम्झौता हुँदैन ।’
आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले सुशासनबिना विकास गर्न नसकिने बताउनु भयो । उहाँले राज्य बलियो जनता पनि बलियो हुने बताउँदै भन्नुभयो, ‘राय बलियो हुने शासन गर्नको लागि नभई जनतालाई शोषित हुन नदिनको लागि हो । हामीले जनतालाई बलियो बनाउन खोजेको हो ।’

प्रतिक्रिया दिनुहोस