अदालतमा जारी गतिरोध अन्तर्राष्ट्रिय चासोको विषय भयो : प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, १५ मंसिर २०७८, १८ : ३३
अदालतमा जारी गतिरोध अन्तर्राष्ट्रिय चासोको विषय भयो : प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै अदालतमा जारी गतिरोध अन्तर्राष्ट्रिय चासोको विषय भइसकेको बताएका छन्।

नेपाल बार र सर्वोच्चबार प्रतितिधिहरुको ज्ञापनपत्र बुझ्दै दाहालले न्यायालय विवाद अब देशभित्रको विषय मात्रै नभएको उल्लेख गरेका हुन्। ‘यो सामान्य छैन। यो हाम्रो देशभित्रको मात्रै पनि कुरा छैन, अब त अन्तर्राष्ट्रिय पनि भइसक्यो। अब नेपालले के गर्छ भन्ने कुरा पूरा दुनियाँले हेरिरहेको छ, न्याय क्षेत्र र समग्र राजनीतिक प्रणालीलाई कसरी लान्छन् त नेपालीले भन्ने कुरा सबैले हेरिराखेकै कुरा छ, दाहालले कानुन व्यवसायीका प्रतिनिधिहरुसँग थप भने, ‘म यूएन मिसनसँग कुरा गर्दैछु त्यहाँ पनि यसको कुरा उठेका छन्।’

उनले विवादबारे अब धेरै धैर्य नसकिने समेत बताए। अदालतमा चलेको आन्दोलनले विसंगति अन्त्य गर्ने विश्वास उनले व्यक्त गरे। उनले भने, ‘हाम्रो धैयर्ताको पनि एउटा बिन्दुसम्म धैर्यता होला, तर हामीले गम्भीर छौँ भनिसकेका छौँ। यो समस्या समाधानको मात्रै होइन, ठूलो बिसंगति अन्त्य हुनेतिर नेपाल जाने बिन्दु हुनसक्छ यो आन्दोलन।’

उनले विवादले गम्भीर रुप लिइसकेको उल्लेख गरे। दाहालले यो समस्या न्यायपालिकाको मात्रै नभएर समग्र राज्यप्रणालीसँग सम्बन्धित भएकोले समस्या समाधान हुन अब समय नलाग्ने बताए। कानुन व्यवसायीलाई प्रचण्डले गुन नबिर्सिएको बताउँदै आन्दोलनमा सँगै रहेको जनाउ दिए।प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै न्यायाधीशहरुले कात्तिक ८ र कानुन व्यवसायीहरुले कात्तिक १४ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन्।

‘यहाँहरु सबैलाई के भन्न चाहन्छु भने हामीले बिर्सियौँ कि भन्ने नठानियोस् । तपाईहरुले लगाएको त्यो गुनको पैँचो तिर्न राजनीतिक दलले पर्छ। कार्यपालिकाले तपाईहरुले जुन गुन लगाउनु भएको छ, त्यसको ऋण हामीले तिर्नुपर्छ, प्रचण्डले अगाडि भने, ‘पहिलो कुरा केही पनि भएन कि के हो ? राजनीतिक दलहरु कानमा तेल हालेर बसेका हुन् कि नबुझेका हुन् कि, थाहा नपाएर यसो गरेका छन् कि, के अनौठो भयो ? डेढ महिना हुन लागिसक्यो भन्ने तपाईहरुको भनाइ छ, तपाईहरुको मर्म पनि बुझिने खालको नै छ । हामी यो विषय तपाईहरुले जति बेलादेखि उठाएर आन्दोलित हुनुभयो त्यति बेलादेखि नै गठबन्धन भित्र यो छलफल भएको छ।’
 

प्रतिक्रिया दिनुहोस