आक्रमणकारीलाई पक्राउ गर्न नेता नेपालको आग्रह

शनिबार, १५ बैशाख २०७५, १९ : १७
आक्रमणकारीलाई पक्राउ गर्न नेता नेपालको आग्रह

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रहरीसँग आग्रह गर्नुभएको छ । आज मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री अस्पताल पुगेर गत वैशाख ८ गते शनिबार सांघातिक आक्रमणमा घाइते हुनुभई उपचाररत नगरप्रमुख श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँले महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण राणालाई फोनबाटै आक्रमणकारीलाई तत्कालै पक्राउ गर्न आग्रह गर्नुभएको हो ।

उहाँले फोनबाटै भन्नुभयो–“एसपी साहेब, जनप्रतिनिधिलाई आक्रमण गर्ने आक्रमणकारी आठ दिन बित्दा पनि किन पक्राउ परेनन्, आक्रमणकारीलाई तत्काल पक्राउ गर्नुस् ।” प्रहरी उपरीक्षक राणाले आक्रमणकारीको पहिचान भइसकेकाले खोजी भइरहेको र केही दिनभित्रै पक्राउ गर्ने बताउनुभएको नेपालले प्रमुख श्रेष्ठलाई जानकारी गराउनुभयो ।

आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, एमाले उपाध्यक्ष भीम रावल, प्रधानमन्त्री पत्नी राधिका शाक्य र प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले पनि उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस