देश आर्थिकरुपले संकटमा जाने अवस्थामा छ : डा. प्रकाशचन्द्र लोहनी

सफल खबर संवाददाता

मंगलबार, ०८ असोज २०८१, १९ : १४
देश आर्थिकरुपले संकटमा जाने अवस्थामा छ : डा. प्रकाशचन्द्र लोहनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आर्थिक रूपले संकटमा जाने अवस्थामा रहेको बताएका छन् ।

मंगलवार पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लोहनीले देश आर्थिक रूपमा संकटको अवस्थामा रहेको बताएका हुन् ।

उनले देशको अवस्था कर्मचारीलाई तलब दिन पुग्ने समेत नरहेको भन्दै विकासका काम गर्न नसक्ने अवस्था रहेको उल्लेख गरे । उनले ठुला राजनीतिक दलहरूले देशलाई माग्नेको स्थितिमा पुर्‍याएका बताए । उनले देशको यस्तो अवस्थामा परिवर्तन वर्तमान शीर्ष राजनीतिक दलका नेताहरूबाट हुन नसक्ने बताए । उनले नेताहरू भ्रष्टाचारमा लिप्त भएर एक अर्कालाई बचाउन लागेका भन्दै उनीहरूबाट देशको अवस्था रूपान्तरण हुन नसक्ने बताए ।

उनले भने, ‘जनतालाई गर्नुपर्ने लगानीको खर्च घटेर गयो । फाल्तु खर्च, साधारण खर्च, टिएडिए खर्च, प्रशासन खर्च व्यापक बढेर गयो । त्यसले गर्दा नेपालीहरूले पठाएको राजस्वबाट नेपालले विकास गर्ने मौका थियो, त्यो मौका खेर गयो । त्यो मौकाको उपयोग भएन । जसले गर्दा खेरी आज यो सरकारलाई कर्मचारीको तलब दिन पनि पुग्ने अवस्था छैन ।’ लोहनीले देशको अस्तित्व बचाउनका लागि अभिभावकीय भूमिकामा राजसंस्थालाई राख्नुपर्ने बताए । उनले राजसंस्थालाई सक्रिय रूपमा नभई संविधानभित्रको राजसंस्थाको रूपमा अभिभावकिय रूपमा राख्नु उपयुक्त हुने बताए ।

प्रतिक्रिया दिनुहोस