निःशुल्क जस्तापाता वितरण शुरु

शनिबार, १५ बैशाख २०७५, १९ : ०२
निःशुल्क जस्तापाता वितरण शुरु

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आजदेखि उपमहानगरभित्र खरको छानो भएका घरमा बस्ने अतिविपन्न परिवारहरुलाई निःशुल्क जस्तापाता वितरण गर्न शुरु गरेको छ । तुलसीपुर उपमनपा–१ को भ्युडर सोनपुर गाउँबाट आज जस्तापाता वितरण शुरु गरिएको हो ।
आज तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेय र उपप्रमुख माया आचार्यले संयुक्तरुपमा सो वडाका खरको छानो भएका गरिब तथा अतिविपन्न परिवारलाई जस्तापाता वितरण गरेर अभियानको शुरुवात गर्नुभएको हो । सो कार्यक्रममा प्रमुख पाण्डेयले आफुले निर्वाचनको समयमा खरको छानो भएका अतिविपन्न परिवारको घरमा जस्तापाता दिने प्रतिबद्धता गरेको र सोहीअनुसार वितरण गर्न शुरु गरेको बताउनुभयो ।

उहाँले यस वर्ष नगरपालिकाका विभिन्न वडामा रहेका ५०० अतिविपन्न घरपरिवारलाई जस्तापाता वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो । आज सो वडाका अतिविपन्न २० घरलाई जस्तापाता निःशुल्क रुपमा प्रदान गरिएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस