भरतपुरलाई देशकै नमुना महानगर बनाउँछु : दाहाल

शनिबार, १५ बैशाख २०७५, १५ : ०४
भरतपुरलाई देशकै नमुना महानगर बनाउँछु : दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई देशकै नमुना महानगर बनाउने बताउनु भएको छ । सिर्जनाचोक टोल विकास संस्था भरतपुरको १६ औँ साधारणसभा तथा आठौँ अधिवेशन उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै महानगर प्रमुख दाहालले यस्तो बताउनु भएको हो ।
“भरतपुर महानगर तीब्र आर्थिक विकास गर्न चाहन्छ । औद्यौगिक, कृषि, पर्यटन, स्वास्थ्य, पूर्वाधार विकासमार्फत भरतपुरलाई देशकै नमुना महानगर बनाउने अभियानमा म लागेकी छु” उहाँले भन्नुभयो, “लगानीको कुनै समस्या छैन, छ त केवल प्रभावकारी योजना र नगरवासीको सकारात्मक सोचको ।”
उहाँले सुशासन, तीब्र विकास र समृद्धि महानगरको चाहना भएको बताउँदै महानगरले महानगरीय गौरवको आयोजनाको रूपमा रिङरोड र लिंकरोड निर्माणको काम भइरहेको बताउनुभयो । गोलाघाटदेखि गाईघाटसम्मको तत्कालीन आवश्यकता र प्राथमिकतालाई आधार बनाएर ती क्षेत्रहरुमा समुचित विकास गर्न महानगरले योजना बनाएको दाहालले बताउनु भयो । महानगर प्रमुख दाहालले देशलाई कायापलट गर्ने केरूङ–ठोरी हुलाकी मार्ग निर्माणमा स्थानीयले सहयोगी भूमिका खेल्नु पर्ने बताउनु भयो  ।


टोल विकास संस्थाहरू विकासका साधक हुनुपर्ने बताउँदै दाहालले महानगरवासीबाट महानगरले सुरु गरेको विकास निर्माणका कामहरूको अनुगमन, रचानात्मक सहयोग र सद्भावको अपेक्षा गर्नुभयो । उहाँले टोल विकास संस्थाहरुलाई आ–आफ्नो टोल छिमेकमा सामाजिक सद्भाव, आपसी मेलमिलापका साथ सरसफाईमा विशेष भूमिका खेल्न आग्रह गर्नुभयो । टोल छिमेकमा स–साना समस्याहरू समाधान गर्न टोल विकास संस्था लाग्नु पर्ने उहाँको भनाइ थियो । महानगर प्रमुख दाहालले शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी लगायत विकास र सुशासनमा जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्न टोल विकास संस्थाहरूलाई आग्रह गर्नुभयो ।
टोल विकास संस्थाका अध्यक्ष टंकनाथ दवाडीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारी, भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले लगायतले टोल विकास संस्थाले खेलेको भूमिकाको प्रसंशा गर्दै सफलताको शुभकाना दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस