पतञ्जली योगपीठद्वारा टिभी च्यानल नेपालमा दर्ता नभएको स्वीकार

सफल खबर संवाददाता

आइतबार, ०५ मंसिर २०७८, १६ : ४०
पतञ्जली योगपीठद्वारा टिभी च्यानल नेपालमा दर्ता नभएको स्वीकार


काठमाडौँ । पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी च्यानल नेपालमा दर्ता नभएको स्वीकार गरेको छ। आइतबार विज्ञप्ति प्रकाशित गरी पतञ्जली नेपालले टिभी भवनको उद्घाटन गरिएको तर, च्यानल सञ्चालनमा नआएको जनाएको छ। यसबारेमा नेपालखबरले सबैभन्दा पहिले समाचार लेखेको थियो। यसलाई लिएर योगपीठका आईटी इन्चार्ज सन्दीप वाल्मीकिले विज्ञप्ति निकालेर टेलिभिजन हालसम्म दर्ता प्रक्रियामै रहेको जनाएका छन्। उसले टीभी कम्पनी रजिस्ट्रारको कार्यालयमा प्रमाणीकरण गरेर अन्य प्रक्रिया अघि बढेको जनाएको छ।

‘हाल टीभी प्रसारण गरिएको छैन, केवल प्राविधिक तयारीका क्रममा रहेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा श्रद्धेय विश्वविख्यात योगऋषि स्वामी रामदेव जी महाराज र श्रद्धेय आयुर्वेद शिरोमणि आचार्य वालकृष्ण जी महाराजको समुपस्थितिको महत्वपूर्ण अवसरमा शुभसाइतका लागि टिभी भवनको उद्घाटन गरिएको हो,’ पतञ्जलीले भनेको छ। 

यही शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्डसहित कयौँ नेताको लावा लस्करसहित नेपालमा अनुमति नलिएका पतञ्जली र आस्था नेपाल नामक टेलिभिजन च्यानलको उद्घाटन गरेका थिए। वाल्मीकिले संचालक समितिको बैठकबाट टिभी संचालनसम्बन्धी निर्णय गरी गत असोज ८ गते गते कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्रमाणीकरण लिइएको जिकिर गरेका छन्।

पतञ्जलीले सरकारको नीति, नियम र कानुनको अधीनमा रही नियमानुसार अनुमति प्राप्त भएपछि मात्रै टिभी संचालन हुने जनाएको छ। उसले आफूहरू विशुद्ध सेवामूलक सामाजिक संस्था भएको जनाउँदै हतारमा केही मिडियाले स्पष्ट नबुझी भ्रामक समाचार प्रकाशन गरेको पनि जिकिर गरेको छ।
 

प्रतिक्रिया दिनुहोस