प्रदेश २ सरकारमा नेकपा समाजवादी पनि सहभागी, २ जनाले लिए मन्त्री पदको सपथ

सफल खबर संवाददाता

आइतबार, ०५ मंसिर २०७८, १० : २३
प्रदेश २ सरकारमा नेकपा समाजवादी पनि सहभागी, २ जनाले लिए मन्त्री पदको सपथ

जनकपुरधाम । प्रदेश २ सरकारमा माधव नेपाल नेतृत्वको नेकपा एस पनि सहभागी भएको छ । आज नेकपा एसका तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र प्रमोद यादव मन्त्रीको शपथ लिएका हुन् ।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानून न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । आइतवार विहान मधेस भवनमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त दुबै मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराए ।

नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एसको प्रदेशसभामा १३ सांसद छन् । यसअघि नै नेकपा एसलाई सरकारमा ल्याउने प्रयास भएको थियो । तर मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा नेकपा एस सरकारमा गएको थिएन । सहमति जुटाउन नेकपा एसका अध्यक्ष माधव नेपालसँग भेट्न मुख्यमन्त्री लालबाबु राउत काठमाडौं नै पुगेका थिए ।

काठमाडौंमा भएको सहमति अनुसार नेकपा एसलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिन मुख्यमन्त्री राउतले मन्त्री रामनरेश रायलाई पदबाट हटाएका थिए । 

प्रतिक्रिया दिनुहोस