दाङ जिल्ला अझै औलोको जोखिममा

शुक्रबार, १४ बैशाख २०७५, १४ : १६
दाङ जिल्ला अझै औलोको जोखिममा

दाङ । दाङमा नौ महिनाको अवधिमा १५ जना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । गतवर्ष जिल्लामा ३४ जना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ कार्यालयका औलो रोग निरीक्षक कमल चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा जिल्लामा औलो रोगका बिरामी घट्दै जान सकारात्मक रहे पनि दाङ जिल्ला औलो रोगको जोखिममा रहेको बताउनुभयो । सो रोग निवारण गर्नको निम्ति जिल्लाका सरोकारवाला निकाय, नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधि सबैको सहयोग आवश्यक रहेको पनि चन्दले बताउनुभयो ।

सबैको सहयोगले मात्र नेपाललाई सन् २०२५ सम्म औलो निवारण गर्न सकिने जिल्ला जनस्वास्थ्य कार्यालयको भनाइ छ । विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्कअनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करीब ५० हजार मानिस प्रभावित हुने गर्दछन् । त्यसमध्ये २७ प्रतिशतको ज्यान औलो रोगकै कारण जाने गरेको छ । औलोका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका बालबालिका रहेका छन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस