गृहजिल्ला अछाम पुगेर भीम रावलले भने– दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्छु

सफल खबर संवाददाता

मंगलबार, २३ कार्तिक २०७८, १६ : ०१
गृहजिल्ला अछाम पुगेर भीम रावलले भने– दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्छु

अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन्। गृहजिल्ला अछामस्थित साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधनका क्रममा रावलले कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको बताएका हुन्। 

उनले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकतावद्ध बनाउनुपर्नेमा पनि जोड दिएका छन्। यो महाधिवेशनबाट एमालेलाई बलियो बनाउनुपर्छ। अध्यक्ष केपी शर्मा ओलीले आफैंले सही गरेको निर्णय कार्यान्वयन गर्नेमा अझै विश्वस्त छुु, उनले भने, ‘यदि असार २७ को १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन(१२ अनुसारको निर्णय कार्यान्वयन गरेनन् भने त्यही हामी पनि कदम चालौँला।’

उनले गृहजिल्लाका कार्यकर्तालाई सम्बोधनका क्रममा आफू कुन पदमा उठ्दा उचित होला भनेर सोधे। त्यसपछि कार्यकर्ताहरूले अध्यक्ष, अध्यक्ष, अध्यक्ष भनेर हुटिङ गरे। ‘तपाईंहरु जेमा उठ् भन्नुहुन्छ म त्यसमै उठ्छु, उनले भने, ‘कार्यकर्ताले अध्यक्षमा उठ्नु भनेका छन्। तपाईंहरुले पनि त्यही भन्नु भएको छ। तपाईंहरुको यो आवाजलाई कमजोर हुन दिन्नँ।’

उनले चुनावमा उठ्दा केपी ओलीदेखि माधव नेपालसम्म पटक पटक हारेको स्मरण गरे। ‘चुनावमा उठेपछि नहार्ने को छ र ? आठौं महाधिवेशनमा केपी ओली र म एकै प्यानलमा हारेका थियौँ। म संविधानसभामा हारेको थिएँ, २०४८ सालमा पनि हारेकै हो। माधव नेपालले पनि काठमाडौंमा चुनाव हारेका थिएु’ उनले भने, ‘चुनावमा उठेर हार्ने जित्ने मुख्य कुरा होइन। मुख्य कुरा त देशको लागि, समानताका लागि झण्डा उठाउने कुरा हो। कार्यकर्ताको भावनालाई कदर गर्दै दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्छु।’