काठमाडौं l भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा केशवराज भूर्तेल भ्रष्टाचारी ठहर भएका छन्। भूर्तेलले अस्पतालको मेसु रहँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको ठहर विशेष अदालतले बुधबार गरेको हो।
विशेषले डा भूर्तेललाई ३ महिना कैद, ३३ लाख ५६ हजार ९ सय ५ रुपैयाँ जरिवाना र सोही बराबर विगो भराउनुपर्ने फैसला समेत सुनाएको छ। विशेषले पदमा रहँदा भूर्तेलले आर्जन गरेको सम्पत्तिमध्ये ३४ लाखको स्रोत खुल्न नसकेको भन्दै फैसला सुनाएको हो। भूर्तेलको उक्त बिगो सम्पत्तिबाट भराउन पनि फैसला भनिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूर्तेल विरुद्ध २०७२ फागुन ११ मा विशेषमा मुद्दा दायर गरेको थियो। भूर्तेलले अस्पताल भवन निर्माण गर्ने ठेकेदारसँग रकम असुल गरी कच्ची भवन बनाएको, स्टोरमा हुने सामान र उपकरण खरिदमा नाजायज फाइदा लिएको, कलेजको जग्गा भाडामा दिई व्यक्तिगत फाइदा लिँदै अस्पताललाई नोक्सानी गराएको, आफ्नो सेयर रहेको मौलाकालिका अस्पतालमा पाठेघरको अपरेसनमा गैरकानुनीरुपमा रकम असुल गरेको अख्तियारको आरोप थियो।
अख्तियारले भरतपुर अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा भूर्तेल विरुद्ध दुई करोड ६३ लाख ५२ हजार ६ सय ६८ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो। तर, विशेषले करिब ३४ लाखको मात्र स्रोत पुष्टि हुन नसकेको विशेषको फैसलामा उल्लेख छ। अख्तियारले डा भूर्तेलकी श्रीमती रुक्मणी भूर्तेलको नाममा समेत चल-अचल सम्पत्ति रहेको पाइएको भन्दै श्रीमतीलाई समेत विपक्षी बनाएको थियो। विशेषले श्रीमतीलाई भने सफाइ दिएको छ।
प्रतिक्रिया दिनुहोस