गाउँपालिका प्रमुख गुरुङबाट अनुगमन

बुधबार, १२ बैशाख २०७५, २१ : ३९
गाउँपालिका प्रमुख गुरुङबाट अनुगमन

चितवन । ईच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङले वडा नम्बर ४ सराथोक र कुरिनटारको बुधबार निरीक्षण अनुगमन गर्नु भएको छ । यस क्षेत्रमा भएको विकास निर्माण, भूकम्प प्रभावितहरुको अवस्था लगायतका बिषयमा अनुगमन गरिएको हो । उहाँले निर्माणाधीन अवस्थामा रहेको सडकको निरीक्षणसंगै भूकम्प प्रभावितहरुको भौतिक संरचना निर्माणमा परेका समस्याको बारेमा समेत जानकारी लिनु भएको थियो । 
विकास निर्माणका क्रममा जनताको गुनासो सुन्ने उद्देश्यका साथ गरिएको अनुगमनका क्रममा सडकको कामलाई अझै तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिइएको थियो । वर्षा अगाडि नै सडक निर्माणको काम सम्पन्न गर्नु पर्ने भन्दै उहाँले जनताले दुःख नपाउने गरी काम गर्न ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिनु भयो । वडामा रहेका भूकम्प प्रभावितहरुले दोस्रो किस्ता रकम पाउन नसकेको भन्दै उहाँले तुरुन्तै वडाबाट सिफारिस लिएर आउनका लागि आग्रह गर्नुभयो । दोस्रो किस्ता नपाएका कारण अधिकांशको घर निर्माणको काममा ढिलाई भएको देखेपछि उहाँले लाभग्राहीलाई यस्तो आग्रह गर्नु भएको हो । जनताले पाउने हरेक सेवा, सुविधाका लागि गाउँपालिकाले तदारुकताका साथ काम गरिरहेको उहाँले बताउनु भयो ।
 

प्रतिक्रिया दिनुहोस