आगामी वर्षमा पुरातात्विक सम्पदा पुनः निर्माण गरिसक्ने : मन्त्री अधिकारी

बुधबार, १२ बैशाख २०७५, १६ : ००
आगामी वर्षमा पुरातात्विक सम्पदा पुनः निर्माण गरिसक्ने  : मन्त्री अधिकारी

काठमााडौँ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकास्थित ‘भग्नावशेषबाट पुनरुत्थान’ प्रदर्शनी कक्ष शुभारम्भ गर्नुभएको छ । हनुमानढोका दरबार संग्रहालय विकास समितिले बनाएको उक्त कक्ष शुभारम्भ गर्दै उहाँले आगामी वर्षमा भूकम्पबाट क्षति भएको पुरातात्विक सम्पदाको पुनः निर्माण गरिसक्ने बताउनुभयो ।

भूकम्पपछि सम्पदाको पुनः निर्माणले गति लिन नसकेकमा अबदेखि कार्ययोजना बनाई अघिबढ्नेमा जोड दिंदै मन्त्री अधिकारीले दुई वर्ष बित्न लाग्दा पनि धरहरा र काष्ठमण्डप बन्न नसक्नु दुःखद भएको बताउनुभयो । पुनः निर्माणमा बिगतको सरकारले काम गर्न सकेको थिएन तर अब स्थायी सरकार भएकाले पुनः निर्माणलाई तीव्रता दिइने र यस्ता काममा प्रतिपक्षलाई पनि सँगै लिएर जाने उल्लेख गर्नुभयो ।

कार्यक्रममा काठमाडौँमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनः निर्माणको कामले सोचजस्तो प्रगति हासिल गर्न नसकेको बताउनुभयो ।
शताब्दी पुरुष सत्यमोहन जोशी पुर्खाले बनाएको सम्पदा संरक्षण गर्नुपर्ने भएकाले भूकम्पबाट क्षति भएका सम्पदा पनि चाँडो बनाउनुपर्नेमा जोड दिनुभयोे । करीब रु २८ लाखको लागतमा निर्मित कक्षमा भूकम्प र भूकम्पपछिको उद्धारसम्बन्धी फोटा, भूकम्पपछि काठमाडौँमा उत्खनन गरिएका पुरातात्विक फोटा राखिएका छन् ।

सोही अवसरमा मन्त्री अधिकारीले हनुमानढोकास्थित प्रताप मल्लको पुनः स्थापित शालिकसमेत अनावरण गर्नुभयो । भूकम्पबाट ढलेको सालिकको पुनः निर्माण ललितपुर मंगलबजारका कलाकार बुबा श्याम डंगोल र छोरा कपिल डंगोलले गर्नुभएको हो ।  (रासस)

प्रतिक्रिया दिनुहोस