चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षाको गुणस्तर बढाउन सामुदायिक विद्यालयको क्षमता वृद्धि गर्नुपर्ने बताउनु भएको छ । आज बुधबार भरतपुर महानगरपालिका ६, गीतानगरमा श्री सिद्धेश्वर आधारभूत विद्यालय गीतानगरको छैठौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘सामुदायिक विद्यालयहरूको क्षमता वृद्धि गरेरमात्र शिक्षाको गुणस्तर विकास गर्न सकिन्छ’ उहाँले भन्नुभयो, ‘सामुदायिक विद्यालयहरू पनि समय अनुसार प्रतिस्पर्धी बनेर गुणस्तरीय शिक्षा प्रदान गर्न मेहनतका साथ लाग्नुपर्छ ।’ समय अनुकूल वैज्ञानिक र ब्यावहारिक शिक्षालेमात्र राष्ट्रले चाहेको जनशक्ति उत्पादन हुने बताउँदै उहाँले त्यसका लागि महानगरले विशेष भूमिका निर्वाह गर्ने बताउनु भयो ।
महानगरभित्रका विद्यालयहरूको नियमन, अनुगमन र विकास गर्ने दायित्व महानगरपालिकामा आएको बताउँदै महानगर प्रमुख दाहालले सबैलाई जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभयो । विगतमा जसरी जसोतसो विद्यालय चल्ने र चलाउने छुट अब महानगरले नदिने बताउँदै दाहालले विद्यालयको गुणस्तर वृद्धि नगर्ने विद्यालयहरू कारबाहीमा पर्ने बताउनु भयो ।
महानगर प्रमुख दाहालले विद्यालयमा भएको क्षमता, सीप, स्रोत र साधनको उच्चतम प्रयोग गरेर गुणस्तर वृद्धिमा लाग्न शिक्षक, कर्मचारी र विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीलाई आग्रह गर्नुभयो । उहाँले विद्यार्थी भर्ना अभियानलाई सघाउन अभिभावकहरुलाई अनुरोध गर्नुभयो । दाहालले एकाध सामुदायिक विद्यालयबाहेक अधिकांश सामुदायिक विद्यालयहरू विद्यार्थी र अभिभावकको रोजाइमा नपर्नु लज्जाको विषय भएको बताउँदै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
निजी विद्यालयहरू फस्टाउँदै जाने तर सामुदायिक विद्यालयहरू विद्यार्थीविहीनजस्तो हुने अवस्थाको अन्त्य नगर्दासम्म सबैका लागि आधारभूत निःशुल्क शिक्षा भन्ने कुरा नारामैमात्र सिमित हुने बताउँदै महानगर प्रमुख दाहालले यसको अन्त्य गर्न अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
‘महानगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरूसँग आवद्ध समुदाय, शिशाप्रेमी, अभिभावक, विद्यार्थी तथा सामाजिक अभियन्ताहरू सामुदायिक विद्यालयको शैशिक र भौतिक पूर्वाधार विकासमा लाग्नुहोस्’ उहाँले भन्नुभयो, ‘महानगर आवश्यक सहयोग गर्न तयार छ ।’
महानगर प्रमुख दाहालले भरतपुर तीब्र विकासको गतिमा अगाडि बढिरहेको बताउँदै महानगरभित्रका लिंकरोड र रिंगरोड निर्माण कार्य ठेक्का प्रकृयामा गइसकेको जानकारी गराउनु भयो । ‘हामीसँग भएका जल, जमिन र जंगलबाट समुचित लाभ लिन सके त्यही नै समृद्धिको आधार बन्नेछ ।’ ठोरी–केरुङ जोड्ने हुलाकी मार्ग चितवनको विकासको मेरुदण्ड बन्ने उहाँको भनाइ थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष हरिविलास कोइराला, नेपाली काँग्रेसका दिनेश कोइराला, नेकपा माओवादी केन्द्रका भागिरथी तिमिल्सेना, चन्दाताता र समाजसेवीहरूले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य खेमप्रसाद पाण्डेले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
वार्षिकोत्सव समारोहमा विद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने १० जना चन्दादाता र विद्यालयको तीनकोठे पक्की भवन निर्माण गरिदिएको गोरखा वेलफेयर सोसाइटीलाई सम्मान गरिएको थियो । २०६८ सालमा स्थापना भएको विद्यालयमा गरीब, असहाय र सिमान्तकृत समुदायका १ सय २० जनाभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस