कामपाले विद्यालयहरुलाई शैक्षिक सामग्री दिने

मंगलबार, ११ बैशाख २०७५, १७ : ३७
कामपाले विद्यालयहरुलाई शैक्षिक सामग्री दिने

काठमाडौँ । मुलुकमा प्रजातन्त्र स्थापना भएलगत्तै कालीमाटीमा स्थापित सामुदायिक विद्यालय जनप्रभात माविले आज ६८ आंैँ वार्षिकोत्सवका दिनदेखि सूचना प्रविधिसम्बन्धी कक्ष सञ्चालनमा ल्याएको छ ।

करीब रु १० लाखको लागतमा निर्मित कक्षको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्दै सरकारले सामुदायिक विद्यालयमा सञ्चालन गरेको भर्ना अभियानलाई सहयोग गर्ने उद्देश्यले महानगरभित्रका सबै सामुदायिक विद्यालयमा आवश्यकतानुसार शैक्षिक सामग्री उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष रामशरण डङ्गोलले विसं २००८ मा स्थापित उक्त विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको जानकारी दिँदै यस वर्ष १५० नयाँ विद्यार्थी भर्ना गरिएको र कक्षा १ देखि १२ सम्म करीब ६०० विद्यार्थी अध्ययनरत भएको बताउनुभयो ।

प्रधानाध्यापक सतेन्द्रलाल कर्णले विद्यालयमा व्यावसायिक शिक्षा सञ्चालन गर्न विभिन्न दातृ संघसंस्थासँग पहल भइरहेको बताउनुभयो । कामपा–१३ का वडा सदस्य रामबाबु कोइराला, शिक्षिका सम्झना ढकाल र पूर्वविद्यार्थी कृष्णराज गौतमले उत्पादनसँग शिक्षालाई जोड्ने नीति नभएका कारण देश विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुन नसकेको बताउँदै सामुदायिक विद्यालयमा समयसापेक्ष पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा कक्षा १० की छात्रा करिश्मा बस्नेतलाई रु ११ हजार पुरस्कारसहित उत्कृष्ट छात्रा पुरस्कार प्रदान गरिएको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस