घडियाल गोहीको अण्डा संकलन

मंगलबार, ११ बैशाख २०७५, १३ : ०४
घडियाल गोहीको अण्डा संकलन

चितवन । चितवनको राप्ती र नारायणी नदीको बगरमा घडियाल गोहीले पारेका अण्डा संकलन गरिएको छ । चितवन राष्ट्रिय  निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्ती नदीको सौराहादेखि कसरासम्म नदी किनारमा अण्डा संकलन गरिएको हो । राप्ती नदीमा दश वटा गँुड फेला परेकामा तीन वटा गँुड छाडेर सात वटा गुँडको अण्डा संकलन गरिएको उहाँले बताउनुभयो ।

नारायणी नदीमा गोलाघाटदेखि त्रिवेणीसम्म छ वटा गँुड फेला परेकामा चार वटा गुँड छाडेर दुई वटा गँुडको अण्डा संकलन गरिएको सहायक संरक्षण अधिकृत खड्काले बताउनुभयो ।उहाँले भन्नुभयो, “उज्यालोमा अण्डा संकलन ग¥यौँ, रातको समयमा ती अण्डालाई डुङ्गामा राखेर प्रजनन केन्द्रसम्म ल्यायौँ ।” गाडीमा अण्डा बोक्दा हल्लने भएकाले डुङ्गाबाट ल्याउने गरिन्छ ।

ती गुँडमा करीब ३०० वटा अण्डा संकलन भएको छ । हरेक वर्ष चैत महिनामा गोहीले नदी किनारमा खाल्टो खनेर अण्डा पार्ने गर्छ । संकलित अण्डालाई बालुवामुनि राख्ने गरिन्छ । जेठको अन्तिमसाता बच्चा आफंैँ कोरलिन्छ । कोरलिएका गोहीका बच्चालाई प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाड्ने गरिएको छ । हालसम्म राप्ती, नारायणी, कालीगण्डकी, कोशी र बबईमा गरी एक हजार ३६५ गोही नदीमा छाडिसकिएको छ । हाल प्रजनन केन्द्रमा ५०० हाराहारीमा घडियाल गोही छन् ।
पछिल्लो गणनाअनुसार राप्ती र नारायणी नदीमा १६६ वटा गोही फेला परेका थिए । सन् २०१७ सम्म राप्तीमा ५६६ र नारायणीमा ३९९ वटा गोही छाडिसकिएको छ । यो वर्ष १२० वटा गोही छाडिएको छ । विसं २०४९ बाट नदीमा गोही छाड्न थालिएको हो । निकुञ्ज स्थापनासँगै कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरेर नदीका बगरबाट अण्डा संकलन गरी प्रजनन केन्द्रमा बच्चा कोरल्ने र हुर्काउने गरिँदै आएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस