बागीश्वरी प्राकृतिक चिकित्सालयलाई केन्द्र सरकारले गर्यो सहयोग

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, १७ : २७
बागीश्वरी प्राकृतिक चिकित्सालयलाई केन्द्र सरकारले गर्यो सहयोग

चितवन । प्राकृतिक चिकित्साको प्रदेशस्तरीय अस्पतालको रुपमा विकास गर्न खोजिएको भरतपुर–१, वागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयलाई हालै नेपाल सरकारबाट केही स्वास्थ्य सामग्री सहयोग भएको छ । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित चिकित्सालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकु काठमाडौंबाट उपलब्ध स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीले आश्रमका अध्यक्ष शैलेन्द्रकुमार पियालाई हिजो बिहीबार चिकित्सालयकै प्राङ्गणमा विधिवत् रुपमा हस्तान्तरण गरे ।

केन्द्र सरकारबाट झण्डै रु. ११ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान भएको हो, जसमा इन्फुजन पम्प २ थान, एम्बु ब्याग ५ थान, इन्फ्रार्ड थर्माेमिटर पिस (कोभिड १९) ५ थान, अक्सिजन सिलिन्डर ८ थान, अक्सिजन कन्सन्ट्रेटर ५ थान, पल्स अक्सिमिटर ह्यान्ड हेल्ड २ थान, पल्स अक्सिमिटर स्पट चेक ८ थान, सिरिन्ज पम्प २ थान र म्याट्रेस÷ब्ल्याङ्केट÷तकिया १० सेट रहेका छन् ।

कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख तिवारीले आफू चितवन आएको अहिले दुई वर्ष भएकोमा डेढ वर्षअघि यस अस्पतालको अफिसियल्ली भिजिट गरेको स्मरण गर्दै भने, ‘मैले त्यतिबेलै यसले ठूलो सम्भावना बोकेको देखेको थिएँ । त्यो दिन र आज हेर्दा धेरै परिवर्तन पनि भइसकेछ । वरिपरि बुट्यान नै बुट्यान थिए, भवन पनि जीर्ण थियो । बिस्तारै सबै व्यवस्थित भएको छ ।’ खारिएका, अनुभवी बोर्ड मेम्बरहरुको निस्वार्थ भावले नै यो चिकित्सालय यहाँसम्म आइपुगेको आफूले पाएको उनले बताए ।

यहाँ कोभिडका बिरामीको पनि सफल उपचार भएको थियो । कोभिडका बेला समेत यहाँ नमूना काम भएको भन्दै तिवारीले नयाँ रोगलाई पनि नेचुरोप्याथी पद्धतिबाट जुध्न सिकाएको बताए । अब यसलाई प्राकृतिक चिकित्साको एकेडेमिक इन्ष्टिच्युट बनाउने जुन भिजन छ, त्यसमा सफलताको कामना गर्दै उनले भने, ‘यसमा अझै आवश्यक सेवा बढाउन प्रदेश र नेपाल सरकारको तर्फबाट हामी लागिपर्ने छौं ।’

प्रदेश सरकार र महानगरको तर्फबाट सहयोग गर्ने क्रममा पनि स्वास्थ्य कार्यालय प्रमुख तिवारीबाट सहयोगी भूमिका निर्वाह भएको बताउँदै चिकित्सालयका मेडिकल डाइरेक्टर डा. हेमराज कोइरालाले भने, ‘अहिले यो सहयोग ल्याउन पनि उहाँबाट अप्रत्यक्ष सहयोग भएको छ ।’ कोभिडका साथै फेरि अरु कुनै नयाँ रोग आएमा पनि बिरामीको सेवा गर्न आफूहरु प्रतिबद्ध रहेको डा. कोइरालाले बताएका छन् ।

पहिले विशेषगरी दुखाइ र प्यारालाइसिसको उपचार हुने गरेकोमा अहिले ठूला रोगहरु तथा किड्नी फेलियरको समेत सफल उपचार गरिएको उनले बताए । डायबिटिज, मुटुरोग लगायत अन्य जटिल रोगहरुको रिभर्सल पनि भएको डाक्टर बताउँछन् । नेपाल सरकारले शिक्षण अस्पतालसहितको प्राकृतिक चिकित्सालय बनाउन ३० करोड रकम छुट्याएको एवम् यस अस्पताललाई जेनेरेटर र आइसीयु बेड दिने प्रक्रियामा केन्द्र सरकार रहेको जानकारी पनि उनले गराए ।

 

प्रतिक्रिया दिनुहोस