दाउन्ने सडक मंगलबार रातभर बन्द गरिने

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, १४ : ३२
दाउन्ने सडक मंगलबार रातभर बन्द गरिने

बुटवल। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्ड मंगलबार रातभर बन्द गरिने भएको छ । पहिरोले भत्किएको सडक मर्मत गर्न रातभर यातायात सञ्चालनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार सडकको रिर्टेनिङ वाल भत्किएर सडक ४०० मिटर भासिएको छ । ‘सडक भासिँदा हाइटेन्सन टावरसमेत ढलेको छ,’ प्रजिअ श्रेष्ठले भनिन्, ‘सडक मर्मतगरी सहज रूपमा यातायात सञ्चालनमा ल्याउन भदौं १५ गते राति १० बजेदेखि १६ गते बिहान ५ बजेसम्म बर्दघाट बजारदेखि पूर्वी सिमाक्षेत्र दाउन्नेसम्म अत्यावश्यकबाहेक सम्पूर्ण साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।

बर्दघाट नगरपालिका–४ मा पर्ने खोलामा सडक भासिएपछि सोमबार साँझदेखि बन्द भएको सडक मंगलबार बिहान पौने ९ बजेदेखि एकतर्फी यातायात सञ्चालनमा आएको थियो ।

अहिले मर्मत भएर एकतर्फी सञ्चालनमा आए पनि ठूलो पानी परेको अवस्थामा सडक भत्किने अवस्था छ । त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न सडक बन्द गरेर काम गर्न लागिएको प्रजिअ श्रेष्ठले बताइन् ।

प्रतिक्रिया दिनुहोस