नारायणी नदी सफाइ अभियान दशौँ हप्तामा

सोमबार, १० बैशाख २०७५, १७ : ३२
नारायणी नदी सफाइ अभियान दशौँ हप्तामा

चितवन । स्थानीय युवाको सक्रियतामा फागुन ७ गतेबाट शुरु भएको नारायणी नदी सफाइ अभियान आज दशौँ हप्तामा आइपुगेको छ । यो अवधिमा यस क्षेत्रका प्रदेश सांसद, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल हुँदै आज नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठसहित नेता तथा कार्यकर्ता पनि सफाइ अभियानमा जुटेका छन् । सफाइका क्रममा श्रेष्ठले चितवनको प्रमुख शहर नारायगढ र सँगै बग्ने नारायणी नदी जिल्लाको सौन्दर्य भएको भन्दै यसलाई बचाई राख्नुपर्ने बताउनुभयो । उहाँले नदी सुन्दर बनाएर रमणीय स्थलका रुपमा विकास गर्न यो अभियान सार्थक हुने बताउनुभयो ।

अभियानमा सहभागी कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरेले नारायणगढ बचाउनका लागि पनि नारायणी नदी आसपास सुन्दर बनाउनुपर्ने बताउनुभयो । जिल्लाकै मुख्य बजारसँग जोडिएको ऐतिहासिक महत्व रहेको यस क्षेत्र संरक्षणका लागि सबैको हातेमालो अपरिहार्य भएको उहाँले बताउनुभयो ।

अभियानमा लाग्नु भएकामध्ये एक स्थानीय युवानेता रामकुमार श्रेष्ठले सरसफाइ अभियानमा सबैको सहभागिताले युवामा उत्साह थपिएको बताउनुभयो । स्वतःस्फूर्त स्थानीयवासीसहित सामाजिक कार्यमा सक्रिय वेय ग्रुप, लायन्स र लियो क्लब, उमाशंकर ट्रस्टलगायत सफाइ अभियानमा जुटेका छन् ।

उमाशंकर ट्रष्टका महासचिव चन्दन अग्रवालले शुरुको दिनमा दुई ट्र्याक्टर फोहोर संकलन भएको भन्दै त्यसपछिका हरेक सोमबारमा एक ट्र्याक्टर फोहोर संकलन हुँदै आएको बताउनुभयो । संकलित फोहोर भरतपुर महानगरपालिकाको ट्र्याक्टरले डम्पिङ साईडमा पु¥याउने गर्दछ ।

हरेक सोमबार नारायणगढ बजार बन्द रहने गर्दछ । सोही दिन बिहान ७ देखि ९ बजेसम्म नारायणी नदी सफाइ अभियान सञ्चालन गरिएको छ । देवघाटमा मानिस जलाउँदा बचेका दाउरा, फालिएका कपडा, कोइलासँगै भरतपुरका विभिन्न क्षेत्रबाट जम्मा भएको ढलको फोहोर पनि नारायणी नदीमा सिधै मिसाइँदै आएको छ ।

नारायणी नदी आसपासका क्षेत्र पर्ने भरतपुर महानगर–१ का वडाध्यक्ष जयराम श्रेष्ठले नारायणगढको गौरीश्वर मन्दिरदेखि नारायणीको पुलसम्म आठ ठाउँमा सोझै ढल नारायणीमा मिसिएको बताउनुभयो । चार ठाउँमा छुट्दै प्रशोधन गरेर पानी नारायणीमा फाल्ने गरिएको भए पनि ती ढलमा नमिसाई आठ ठाउँबाट भने सोझै नदीमा ढल मिसाएकाले नदी थप प्रदूषित बनेको बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस