तीन बुँदे सहमति कार्यान्वयन नभएपछि 'विप्लव’ नेतृत्वको नेकपाले गर्यो धर्ना

सफल खबर संवाददाता

सोमबार, १८ असोज २०७८, १५ : ०४
तीन बुँदे सहमति कार्यान्वयन नभएपछि 'विप्लव’ नेतृत्वको नेकपाले गर्यो धर्ना

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । गत फागुन २१ गते तत्कालीन ओली सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएर पनि कार्यान्वन नभएपछि धर्ना सुरु भएको हो ।

विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिने क्रममा सोमबार काठमाडौँ जिल्ला समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय बबरमहलमा धर्ना दिइएको छ ।

विप्लव नेतृत्वका नेकपा कार्यकर्ताले प्रहरीले लगाएको निषेधित क्षेत्रलाई तोडेर धर्ना दिन खोेजेपछि प्रहरीले ब्यानर खोसेको थियो । प्रशासन कार्यालय अगाडिबाट बबरमहलमा कालो ब्यानरसहित र्याली लिएर विप्लवका कार्यकर्ताहरु आएका थिए । त्यहाँ पुगेर र्याली धर्नामा परिणत भएको थियो ।

 धर्ना कार्यक्रममा बोल्दै जिल्ला सचिव तुलसीनारायणले बिनासर्त सम्पूर्ण नेता तथा कार्यकर्तालाई रिहा गर्न नेपाल सरकारलाई आग्रह गरे ।गएको फागुन २१ गतेको तीन बुँदे सम्झौताअनुसार विप्लप समूहका नेताहरुमाथि लगाइएका सबै मुद्धा खारेज र बन्दीहरुलाई रिहा गर्ने भनिएको छ । तर, ओली सरकार गएर देउवा सरकार आगमन भए पनि अझैँसम्म तीन बुँदे सहमति कार्यान्वयनमा आउन सकेको छैन ।

तीन बुँदे सहमति भएको ५ महिना पूरा भएपनि सम्झौँताबारे सरकारले बुँदाका सहमति कार्यान्वयनमा चासो नदेखाए पछि विप्लव समूह आक्रोशित भएको छ ।विज्ञप्तिमा भनिएको छ, ‘सरकारले गरेको सहमतिको ५ महिना समय व्यतित हुँदासम्म लागू नगरी ओली सरकार विगठन भयो । यो राष्ट्रिय राजनीति, नेपालको राजनीतिक आन्दोलन र नेपाली जनताको निम्ति धोकाजस्तो बिडम्वनापुर्ण कुरा हो । वार्ता र तीन बुँदे सहमतिले राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा पारेको सकारात्मक प्रभाव र जन अपेक्षामाथि तुषारापात जस्तो भएको छ ।’

तत्कालीन ओली सरकारसँग सहमति कार्यान्वयनसम्बन्धी सरकार र पार्टीबिच सकारात्मक छलफल भएर जनतामा उत्साह पैदा भएको पनि विज्ञप्तिमा जारी छ । तर, अहिलेसम्म आइपुग्दा बन्दी नेता, कार्यकताहरु रिहा नहुनु र मुद्धा खारेज नहुनुले आक्रोस र चिन्ता पैदा भएको पनि विज्ञप्तिमार्फत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस