जनकपुर बम काण्डका मुख्य योजनाकार संजय साहको जिल्ला अदालतको फैसला उच्च अदालतले उल्ट्यायो

सफल खबर संवाददाता

सोमबार, १८ असोज २०७८, १० : ५२
जनकपुर बम काण्डका मुख्य योजनाकार संजय साहको जिल्ला अदालतको फैसला उच्च अदालतले उल्ट्यायो

काठमाडौं । जनकपुर बम काण्डका मुख्य योजनाकारको अभियोगमा जिल्ला अदालत धनुषाले जन्मकैदको सजाय सुनाएको संजय साह (टकला) को फैसला उच्च अदालत जनकपुरले उल्ट्याएको छ। 

उच्च अदालत जनकपुरले जिल्ला अदालतले गरेको जन्मकैदको फैसला कम गर्दै साहलाई ७ वर्ष मात्रै सजाय हुने फैसला गरेको हो । जिल्ला अदालतको फैसलाविरुद्ध अभियुक्त साहले उच्च अदालत जनकपुरमा गरेको रिटमाथि सुनुवाई सुरु गर्दै आइतबार साँझ न्यायाधीशद्वय धीर बहादुर चन्द र मेश ढकालको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो। 

साहमाथि ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दा चलेको छ। जसमा ज्यान मार्ने उद्योगमा जिल्ला अदालतले गरेको जन्मकैदको फैसला उल्ट्याउँदै ७ वर्ष मात्रै सजाय हुने फैसला भएको उच्च अदालत जनकपुरका रजिष्टार खडकराज अधिकारीले बताए ।

उनका अनुसार साहमाथि रहेको अर्को मुद्दा कर्तव्य ज्यानमा षडयन्त्र गरेर घटना गराएको अभियोगमा कसुरदार ठहर गरिएको छ। यद्यपी सो मुद्दामा सजाय निर्धारण गरिएको छैन। यो मुद्दामा अगामी कातिक १५ गते बहस हुने रजिष्टार अधिकारीले बताए। जिल्ला अदालतकै फैसलाअनुसार साह हाल काठमाडौंको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन्। 

२०६९ साल वैशाख १८ गते मिथिला राज्यको मागगर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्षित गरी शक्तिशाली बम विष्फोट गराइएको थियो। घटनामा ५ जनाको ज्यान गएको थियो भने ३३ जना घाइते भएका थिए। 

प्रतिक्रिया दिनुहोस