नयाँ दिल्लीबाट तीन नेपाली बालिकाको उद्धार

आइतबार, ०९ बैशाख २०७५, २० : ३१

नेपालगन्ज । भारतको नयाँ दिल्लीको जिबी रोडस्थित दुईवटा कोठीबाट तीन नेपाली बालिकाको उद्धार गरिएको छ ।

माइती नेपालको आग्रहमा भारतीय प्रहरीले जिबी रोडको कोठीमा छापा मारेर ती बालिकाको उद्धार गरेको हो ।

नेपालबाट माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाको नेतृत्वको टोलीले दिल्ली प्रहरीको सहयोगमा कोठीमा गत वैशाख ४ गते छापा मारेको थियो । ती कोठीमा करिब ६०/७० नेपाली बालिका र किशोरी रहेको सूचनाका आधारमा छापा मारिएको थियो ।

“छापा मारिँदैछ भन्ने सूचना पाएपछि कोठीका सञ्चालकले अन्य बालिकालाई लुकाएको पाइयो”–संयोजक कोइरालाले भने ।

उद्धार गरिएका बालिकालाई अहिले नयाँ दिल्लीस्थित नारी निकेतनमा राखिएको छ । आवश्यक कानूनी प्रक्रिया सकिएपछि कोठीबाट उद्धार गरिएका बालिकालाई नेपाल ल्याइने उहाँले बताउनुभयो । गएराति नेपालगन्ज फर्केको कोइराला नेतृत्वको टोलीले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरी सो घटनाबारे जानकारी गराएको हो । रासस

प्रतिक्रिया दिनुहोस