कम्युनिष्ट पार्टी स्थापना दिवसमा एमाले चितवनको शुभकामना आदान–प्रदान

आइतबार, ०९ बैशाख २०७५, १९ : ५५
कम्युनिष्ट पार्टी स्थापना दिवसमा एमाले चितवनको शुभकामना आदान–प्रदान

 

चितवन । नेकपा एमाले चितवनले नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवस शुभकामना आदान–प्रदान गरी मनाएको छ । आज पार्टी कार्यालयमा आयोजित जिल्ला कमिटीको बैठक मार्फत नेताहरुले कम्युनिष्ट पार्टी स्थापना दिवसको खुशियाली साटासाट गरेका हुन् । कम्युनिष्ट दिवस मार्फत सबै कम्युनिष्ट पार्टीहरुविच एकता हुनुपर्छ भन्ने सन्देश जिल्ला कमिटी बैठक मार्फत प्रवाह गरिएको प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिनुभयो । उहाँले एमाले माओवादी विच छिट्टै एकता हुने भन्दै जिल्ला कमिटीका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गरिने बताउनुभयो । बैठकमार्फत भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष अरुणपिडित भण्डारी माथि आक्रमण गर्नेलाई प्रशासनले अझै पक्राउ गर्न नसकेको भन्दै ध्यानाकर्षण गराइएको छ ।

तत्कालिन राणा शासनको विरुद्धमा आन्दोलन चलिरहेकाबेला वि.सं. २००६ वैशाख १० गते (अप्रिल २२, १९४९) कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारतीय भूमि कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको जन्मभएको थियो । नेता श्रेष्ठ, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी, मोतिदेवी श्रेष्ठ र  निरन्जन गोविन्द वैद्य कम्युनिष्ट पार्टीको संस्थापक थिए । एमाले जिल्ला कमिटी उपाध्यक्ष तेजेन्द्र खड्काको अध्यक्षतामा बसेको बैठकमा पार्टी बैकल्पिक सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण खनाल प्रमुख अतिथी रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस