धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण शुरु

सफल खबर संवाददाता

बुधबार, १३ असोज २०७८, १६ : ११
धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण शुरु

धनगढी । यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुदूरपश्चिममा पनि वितरण शुरु भएको हो । सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमती पत्रका लागी १ वर्षसम्म कुनुपर्ने बाध्यता थियो। अब परिक्षणकालिन अनुमतीपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ।

परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधीमा ५ गल्ती गरेमा लाइसेन्स नै खारेज हुने यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले बताए।उनले चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गरिएको बताए ।

उनले भने, ‘सेवाग्राहीबाट लाइसेन्स ढिला आउने, क्वालिटीको नआउने जस्ता धेरै नै गुनासो आएको थियो,अब त्यो गुनसो हामी कम गर्दै जानेछौँ,हामी परीक्षार्थीले परीक्षा दिएको एक हप्तामा एक वर्षीय परीक्षण लाइसेन्स दिनेछौँ, सवारी चालक अनुमति पत्र लिनुभएकाहरुले एक वर्षभित्र ५ वटा मिस्टेक भन्दा बढी गर्नुभयो भने लाइसेन्स खारेज हुन्छ, गल्ती गर्नुभएन भने स्मार्ट लाइसेन्स दिनेछौँ ।’

चालक अनुमतिपत्र वितरण शुरु भएसँगै १ वर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता अन्त्य भएको छ। परीक्षणकालीन लाइसेन्स पाएपछि सेवाग्राहीले खुशी प्रकट गर्दै अब सवारीसाधन चलाउँदा केही सहज हुने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस