जलविद्युत आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, ०९ : ०९
जलविद्युत आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

काठमाडौं- बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चारजनाको मात्रै शव फेला पर्यो । बाढीले उनीहरुका परिवारको खुसी उजाडियो । लालाबाला टुहुरा भए । आयोजना एकाउक खण्डहरमा परिणत भयो । करोडौं मूल्यका सामान बाढीले बेपत्ता  बनायो । हेवा खोलाको बाढीको वितण्डाले उठ्नै नसक्ने गरी समस्यामा पारिदिएको आयोजनाको नाम हो ‘सुपर हेवा पावर कम्पनी’ ।

सिन्धुपाल्चोकका निमा लामा पहिलोपटक जलविद्युत् आयोजनामा जोडिएर लगानी गरेका थिए । आयोजनाबाट बिजुली बाल्ने अन्तिम तयारी हुँदै गर्दा २०८० असार १ र २ गतेको अविरल वर्षापछिको बाढीले दिएको दुःख भूल्दै फेरि निर्माणमा जुटेका लामालाई यस वर्ष पनि गत वर्षकै पीडा दोहोरियो ।

गत वर्षको बाढीले आयोजनाको पाइप र अन्य निर्माण सामग्री बगाएको थियो । त्यो बेला झण्डै ४० करोड बराबरको क्षति भएको थियो । निर्माण व्यवसायीले बीमा नगर्दा क्षतिपूर्ति पाउन समेत समस्या भयो ।

उपकरणको भन्दा पनि मानव जीवनको क्षति ठूलो भयो । बेपत्ता भएका बर्दियाका कामदारको अवस्था हालसम्म पत्ता लागेको छैन । निर्माणमा संलग्न मजदुर छोराछोरी जस्तै प्रिय थिए । आफ्ना प्रिय मान्छेहरुलाई खोलाले निलेपछि निमाको आँखा धेरैदिन ओभानो भएन । “म धेरै दिनसम्म रोएँ । मलाई असाध्यै नरमाइलो लागिरह्यो । मेरो आयोजनामा काम गर्न आएका मजदुरको शव समेत हालसम्म फेला परेको छैन । फेरि त्यस्तै कहर यसपटक पनि आयोजनाले खेप्नु परेको छ”, उनले भने ।

बीमालगायत प्रत्येक मजदुरका परिवारलाई  आठ लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराइए पनि मानव जीवनको क्षतिपूर्ती कसरी हुँदो हो र ? निमा भन्छन्, ‘आयोजनाको फेरि निर्माणका लागि भन्सारमा सामान रोकियो । अनेकन हण्डर ठक्कर व्योहोरेर पुनः आयोजना सुरु गर्दा नगर्दै समस्या दोहोरियो ।’

गत वर्ष जनधन दुवैको क्षति भएको भए पनि यस वर्ष मानव क्षति भने भएन । यसैमा खुसी छन् निमा । चैनपुर सिद्धपोखरीदेखि आयोजनास्थल मुच्छेबुङसम्म पुग्ने पहुँचमार्गको ६ किलोमिटर खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ ।

नियमित काम हुन पाएको भए आगामी कात्तिक मसान्तसम्म आयोजनाबाट बिजुली उत्पादन हुने थियो । तर यसपटक पनि प्राकृतिक विपत्तिका सामू उनको केही लागेन । हेवामा गत वर्षको जस्तै बाढी आयो । क्षति पुर्यायो । बिजुली बाल्ने सपना पर धकेलियो ।

निमाले भने, ‘प्राकृतिक विपत्तिले दिनुसम्मको दुःख दियो ।’ कुल ६ मेगावाट क्षमताको सो आयोजना आकर्षकमध्येको एक हो । जलविद्युत् क्षेत्रमा लगानी गर्ने मनसाय राखेर ठूलो दुःखका साथ लागिपरे पनि प्रकृतिसँग केही नलागेपछि उहाँ दुःखी छन् ।

सरकारी निकायले समन्वय नगर्दा भन्सारमा सामान रोकिने, निर्माणको काम गतिका हुन नसक्दा दिनप्रतिदिन लागत बढेको उनी  सुनाउँछन् । बाढीका कारण सिभिल काम, इन्टेक, बालुवा थिग्रयाउने पोखरी, बाँध, विद्युत् गृह, टेलरेसलगायतका संरचनामा क्षति पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौताअनुसार विद्युत् जोड्ने समय २०८० असार ३१ गते थियो । बाढीले ती सबै लक्ष्यमाथि तुषारापात गरिदिएको उनको भनाइ छ । अब त सरेर आगामी माघसम्म पुग्ने होला भन्ने चिन्तामा छन् उनी ।

गत वर्षको बाढी र यस वर्षको बाढीले धेरै जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । गत वर्ष मात्रै निर्माणमा रहेका १८ वटा परियोजनामा क्षति पुगेको थियो । त्यसबाट मुलुकले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस