स्वच्छ खानेपानीका लागि दीर्घकालीन र अल्पकालीन योजना बन्छ : मन्त्री मगर

आइतबार, ०९ बैशाख २०७५, १३ : १८
स्वच्छ खानेपानीका लागि दीर्घकालीन र अल्पकालीन योजना बन्छ : मन्त्री मगर

चितवन । खानेपानीमन्त्री बिना मगरले स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गरिने बताउनुभएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमनपछि उहाँले अहिलेसम्म राष्ट्रिय गौरवका योजना धेरै नहुँदा समस्या आएको बताउनुभयो ।

तराईका २२ जिल्लामा पानीको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउन आवश्यक भएको बताउँदै मन्त्री मगरले अहिले केन्द्रीय सरकार र प्रदेश सरकारबीच जिम्मेवारी बाँडफाँट नहुँदा काममा समस्या आउने गरेको उल्लेख गर्नुभयो ।
नारायणी नदीको पानी व्यवस्थापन गरेर स्वच्छ पिउने पानीको व्यवस्थापन गर्ने तयारी भइरहेको छ भन्दै उहाँले अहिले हरेक जिल्लामा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमन गर्ने क्रममा रहेको र अनुगमनपछि कार्ययोजना बनाएर अघि बढ्ने जानकारी दिनुभयो ।

चितवनमा पनि केही वर्षपछि पानीको समस्या हुने भएकाले यसका लागि कर्मचारीहरुलाई दीर्घकालीन योजना बनाउन र फोहर प्रशोधन गर्दै समाजलाई सफा राख्नका लागि पहल गर्न पनि उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।मन्त्री मगरले आजै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कञ्चनपुर जिल्लाबाट उपचार गराउन आएका १४ बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस